फ्रान्सले कोरोना महामारीका कारण लगाइएका सबै प्रकारका प्रतिबन्धहरु हटाएको छ।
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोनले कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि लागु गरिएका विभिन्न प्रतिबन्ध फुकुवा गरिएको घोषण गरेका छन्।
उनले सोमबारदेखि फ्रान्समा होटल र रेष्टुराँ खोल्न दिने र विदेश यात्रा गर्न पनि अनुमति दिइएको बताएका छन्।
यस्तै प्रतिबन्धहरु फुकुवा भएसँगै केयर होममा रहेका आफन्तहरुसँग भेटघाट गर्न पनि पाइने भएको छ। कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढी केयर होमहरु प्रभावित भएका छन्।
कोरोनाको संक्रमण बढ्न थालेपछि विगतमा लगाइएका प्रतिबन्धहरु हटाएर दैनिकी सहज बनाउन खोजिएको राष्ट्रपति म्याक्रोनले बताए।
युरोपियन युनियनमा आवद्ध देशहरुले पनि आफ्ना सीमा खुला गर्नुका साथै दैनिकी सहज बनाउने बताएका छन्। बेल्जियम, क्रोएशिया, स्विटजरल्याण्ड र जर्मनीलगायतका देशले पनि सीमा खुकुलो पार्ने भएका छन् ।
टेलिभिजन सम्बोधनमा राष्ट्रपति म्याक्रोले कोरोना भाइरसविरुद्धको पहिलो युद्ध जितिएको तर भाइरस पुनः फर्किन सक्ने भन्दै चेतावनी पनि दिएका छन्।
उनले लामो समयको प्रतिबन्धका कारण धरासायी बनेको अर्थतन्त्र र सर्वसाधारणको दैनिकी सहज बनाउन सरकारले सहयोग गर्ने पनि प्रतिवद्धता व्यक्त गरेका छन्।
मे महिनाको सुरुवातसँगै फ्रान्सका धेरै शहरमा होटल, क्याफे तथा रेष्टुराँहरु खोल्ने अनुमति दिइएको थियो।तर सोमबारदेखि पूरै फ्रान्सभर प्रतिबन्ध फुकुवा गरिएको छ।
पूर्ववत रुपमा आफ्ना व्यवसाय र दैनिकीहरु सञ्चालन गरेपनि स्वास्थ्य सतर्कता भने अपनाउन राष्ट्रपति म्याक्रोनले आग्रह गरेका छन्।
यही जुन २२ देखि सम्पूर्ण शैक्षिक संस्थाहरु पनि सुचारु हुने बताइएको छ। तर हाइस्कूल भने अझै बन्द नै रहने छन्। तर अधिकांश प्रतिबन्ध फुकुवा गरिनुको अर्थ कोरोना भाइरस गएको भन्ने नरहेको उनले उल्लेख गरेका छन्।
फ्रान्समा यसअघि स्थगित भएको स्थानीय निकायको निर्वाचन समेत यही महिनाको अन्त्यमा हुने बताइएको छ।