बाँकेको नरैनापुर गाउँपालिकाका सबै संक्रमित कोरोना मुक्त भएका छन्। शनिबार थप १७ जनाले कोरोना जितेर घर फर्किएसँगै नरैनापुर कोरोनामुक्त भएको हो।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वांगका अनुसार नरैनापुरमा कुल कोरोना संक्रमित ११८ जना थिए। तीमध्ये नयाँ बस्तीका एक जना २५ वर्षीय युवकको कोरोनाका कारण क्वारेन्टाइन मै रहेको अवस्थामा मृत्यु भएको थियो।
पछिल्लो एक साता यता जिल्लाका अन्य पालिकामा कोरोना संक्रमण बढेपनि नरैनापुुरमा संक्रमण शून्य भएको छ। नरैनापुर भारतसँग सिधा सीमा जोडिएको यहाँको एक विकट स्थानीय तह समेत हो। यो पालिका केही महिना भने कोरोना संक्रमणको ‘हटस्पट’को रुपमा रह्यो। तर अहिले भने यहाँ संक्रमण शून्य भएको उनले जानकारी दिए।
नरैनापुरमा भारतबाट आएका नागरिकबाट कोरोना संक्रमण शुरु भएको थियो। यता गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले पछिल्लो समय नरैनापुर सामान्य बन्दै गएको बताए। उनका अनुसार नरैनापुरका पहिलो जस्तो आंतकित र भयवित छैन।