कोहलपुरमा मदरसाका धर्मगुरुसहित ३० जनाको स्वाब संकलन

कोहलपुर नगरपालिकामा पहिलो पटक ३० जनाको स्वाब संकलन गरिएको छ। आइतबार जिल्ला स्वास्थ्य कार्यालय बाँकेको अगुवाईमा मस्जिदमा रहेको धर्मगुरु, विद्यार्थी र तेस्रो मुलुकबाट आएका ३० जनाको स्वाब संकलन गरिएको हो।  

कोरोना भाइरस संक्रमणको ‘रेड जोन’मा रहेको नेपालगञ्जदेखि १६ किलोमिटर दुरीमा रहेको कोहलपुरमा शनिबार विभिन्न वडामा रहेका मस्जिद, चर्चहरुमा अनुगमन गरिएको थियो। 

कार्यालयका कोरोना फोकल पर्सन नरेश श्रेष्ठका अनुसार  कोहलपुर–४ मा रहेको मदरसा (हिमालय गरिव नवाज प्रा.वि) मा क्याम्प संचालन गरी पालिकाका वडा नम्बर ४,८ र ९ मा रहेका मस्जिद, चर्च र तेस्रो मुलुकबाट आएका नागरिकहरुको स्वाब संकलन गरिएको बताए। तर तेस्रो मुलुकबाट कति जना आएका थिए भन्ने खुलाइएको छैन। 

स्वाब संकलनमा नगर स्वास्थ्य शाखा कोहलपुरको टिमले सघाएको नगर स्वास्थ्य शाखाका प्रमुख डिल्लीराज पोखरेलले जानकारी दिए। 

संकलन गरिएका स्वाब नेपालगञ्जस्थित भेरी प्रादेशिक अस्पतालमै चेकजाँच गरिने भएको छ। बाँकेको नेपालञ्जमा कोरोना भाइरसका २४ जना संक्रमित छन्। उनीहरुको उपचार भइरहेको छ।
 

प्रकाशित मिति: : 2020-05-10 18:33:45

प्रतिकृया दिनुहोस्