लकडाउन थप गर्ने जिम्मा मन्त्रिपरिषद्लाई, भाेलि निर्णय हुने

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि जारी लकडाउन लम्ब्याउने वा अरु विकल्प सोच्ने भन्नेबारे आइतबार बस्ने मन्त्रिपरिषदको बैठकले निर्णय गर्ने भएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा शुक्रबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड-१९ उच्चस्तरीय रोकथाम तथा नियन्त्रण समितिकाे बैठकले दिने सुझाव अनुसार निर्णय लिन भोलिका लागि मन्त्रिपरिषदको बैठक डाकिएको एक मन्त्रीले जानकारी दिए । 

 उच्चस्तरीय समितिले अहिलेको परिस्थितिको विश्लेषण गरेर लकडाउनको विषयमा सरकारलाई आवश्यक सुझाव दिनेछ । पछिल्ला दिनमा उपत्यकामा कारोना संक्रमित नभेटिए पनि बाहिर जिल्लामा भेटिदै गएको छ।

त्यस्तो अवस्थामा तत्कालै लकडाउन खोल्दा संक्रमण बढ्ने संभावना छ। नेपालमा हालसम्म ४९ जनामा कोरोना संक्रमित भेटिएका छन्।

जसमध्ये  घर फर्कनेको संख्या ११ पुगेको छ। 

शुक्रबार बागलुङकी १९ वर्षीया अंशु सापकोटा कोरोनाबाट मुक्त भएर घर फर्केपछि घर फर्किनेको संख्या ११ पुगेको हो।

सापकोटा करिव अढाइ महिना  बेल्जियम बसेर चैत ४ गते नेपाल फर्केकी थिइन्। फर्केको केही समयमै कोरोना संक्रमणका सम्भावित लक्षण देखिएपछि उनी पाँचौ संक्रमितका रूपमा धौलागिरि अञ्चल अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएकी थिइन्। 

 

प्रकाशित मिति: : 2020-04-25 14:05:34

प्रतिकृया दिनुहोस्