विश्व नै कोरोना भाइरस (कोभिड–१९) सँग लडिरहेका बेला औलो प्रभावित देशमा थोरैमात्र कोभिड-१९ का संक्रमित भेटिएका विश्व स्वास्थ्य संगठनले जनाएको छ।
शनिबार अप्रिल २५ तारिख अर्थात् विश्व औलो दिवसकाे अवसरमा विश्व स्वास्थ्य संगठनले यस्तो जानकारी दिएको हो। सन् २०१८ को तथ्याङक अनुसार विश्वका ८९ देशमा औलोका बिरामी भेटिएपनि नाइजेरिया, कंगो, युगान्डा, मोजाम्बिक र नाइजरमा औलोका धेरै बिरामी छन्।
यो रोग सङ्क्रमित पोथी एनोफिलिज नामक लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ। गर्भवती तथा पाँच वर्षमुनिका बालबालिका अैलोको उच्च जोखिममा रहने गरेका छन्। वर्षायामसँगै सुरु हुने औलोको जोखिम असार मध्येदेखि मंसिरसम्म उच्च हुने डाक्टरको भनाइ छ।
धेरै टाउको दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, हात–खुट्टा, जोर्नी दुख्नु, थकान तथा कमजोरी महसुस हुनु, शरीरमा रगतको कमी हुनु, कम्पन हुनु, ज्वरो आउनु र ज्वरो घटेपछि थाकेको महसुस हुनु औलोका लक्षण हुन्।
संगठनले औलो रोकथाम तथा नियन्त्रणका लागि काम गरिरहेका स्वास्थ्यकर्मी र समुदायलाई कोभिड-१९ बाट जोगाउन दिगो प्रयासमा प्राथमिकता दिदै औलो विरुद्धका कार्यक्रम नरोक्न स्वास्थ्यकर्मी र समुदायसँग अपील पनि गरेको छ।