बाँके प्रहरीको अपिल: घरभित्रै नमाज पढ्नुस्, अनावश्यक भिडभाड नगर्नुस्

जिल्ला प्रहरी कार्यालय, बाँकेले शनिबारबाट सुरु हुन गइरहेको पवित्र रजमानको अवसरमा अनिवार्य रुपमा घरभित्रै नमाज पढिदिन इस्लाम धर्मावलम्वीहरुलाई अपिल गरेको छ। 

कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै लकडाउनको समयमा अनिवार्य रुपमा घरभित्रै नमाज पढेर सरकारको निर्देशन पालन गर्न अपिल गरिएको हो ।

शुक्रबार एक सूचना जारी गर्दै बाँके जिल्लामा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्वीहरुलाई रजमानको अवस्थामा शुभकामना व्यक्त गर्दै अनावश्यक रुपमा भिडभाड नगरिदिन आग्रह गरिएको छ। 

‘पवित्र रमजानको अवसरमा सम्पूर्ण इस्लाम दाजुभाइ दिदिबहिनीहरुमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। कोरोना भाइरसका कारण हुन सक्ने संभावित जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी कायम गरि अनावश्यक भिड नगरिदिन हुन अनुरोध गर्दर्छौ,’उक्त सूचनामा भनिएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी वीरबहादुरले ओलीले कोरोना संक्रमणलाई मध्यनजर गर्दै इस्लाम धर्मावलम्वीहरुलाई सकभर घर भित्रै नमाज पढ्न आग्रह गरिएको बताए ।

लकडाउनको अवज्ञा गरेमा कानुन अनुसार कडा भन्दा कडा कारबाही गरिने उनले बताए। बाँके जिल्लामा ठूलो संख्यामा इस्लाम धर्मावलम्वी रहेका छन् । विशेषगरि नेपालगञ्ज उपमहानगरपालिकामा मुस्लिम समुदायको बसोबास रहेको छ ।

प्रकाशित मिति: : 2020-04-24 20:55:15

प्रतिकृया दिनुहोस्