स्वास्थ्य मन्त्रालयले हरेक स्थानीय तहमा विशेष टोली परिचालन गर्दै

बिएल संवाददाता

काठमाडाै‌ं

कोरोना भाइरस परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गाउँपालिकादेखि महानगरपालिकासम्म विशेष टोली परिचालन गर्ने भएको छ। मन्त्रालयले हरेक गाउँपालिकामा एक, नगरपालिकामा दुई, उपमहानगरपालिकामा तीन र महानगरपालिकामा पाँच टोली परिचालन गर्ने तयारी गरेको हाे।

मन्त्रालयले गर्दै आइरहेको नियमित ‘प्रेस ब्रिफिङ’मा शुक्रबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले उक्त टोलीमा जनस्वास्थ्य अधिकृत, प्रयोशालाका कर्मचारी र नर्ससहित तीनजना रहने जानकारी गराए।

स्वास्थ्यकर्मीको टोलीले कोरोना संक्रमणको नियन्त्रण तथा रोकथाम, परीक्षण र ‘ट्रेसिङ’मा सहयोग र सहजीकरणको काम गर्ने उनले बताए। 

डा. देवकोटाले देशभर अहिलेसम्म ‘आरडीटी’ र ‘पीसीआर’ प्रविधिमार्फत् ४७ हजार ४९६ जनाको परीक्षण गरिएको जानकारी दिए।

उनले बिहीबार संक्रमण पुष्टि भएको भोजपुरका २६ वर्षीय पुरुषको सम्पर्कमा आएका उदयपुरका आफन्तको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको जानकारी दिए।

प्रकाशित मिति: : 2020-04-24 19:58:18

प्रतिकृया दिनुहोस्