सरकारले भ्रष्टाचारीको संरक्षण गर्‍यो: राणा

बिएल संवाददाता

काठमाडाै‌ं

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका अध्यक्ष पशुपतिशम्शेर राणाले सरकारले भ्रष्टाचारीको संरक्षण गरेको आरोप लगाएका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तले काठमाडौंमा आयोजना गरको २९८ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा आयोजित राष्ट्र निर्माता पृथ्वी नारायण शाह र राष्ट्रिय एकता आजको आवश्यकता विषयक विचार गोष्ठीमा बोल्दै अध्यक्ष राणाले सरकारले भ्रष्टाचारको विरोध गर्नुको सट्टा संरक्षण गर्ने गरेको आरोप लगाएका हुन्। 

अध्यक्ष राणाले राष्ट्र निर्माता पृथ्वी नारायण शाह घुस खोरीको ठूलो विरोधी रहेको स्मरण गर्दै राष्ट्र निर्माता शाहको देशमा बर्तमान सरकार भने घुस लिने र दिनेलाई नै सरकारले संरक्षण गरेको बताए। उनले आफ्नो पार्टीले राष्ट्र निर्माता शाहको गौरवमय गाथा र इतिहासको स्मरण गराउनका लागि यस्ता विचार गोष्ठीको आयोजना गरेको उल्लेख गरे।  

यस्तै अध्यक्ष राणाले मुलुकमा रहेको कुशासनलाई अन्त्य गरी असल विरासतलाई कायम राख्न आफ्नो पार्टी अघि बढ्ने जिकिर गरे।

उनले राष्ट्र निर्माता शाहलाई आफ्नो पार्टीले महापुरुषको रुपमा लिने गरेको भन्दै पृथ्वी जयन्ती राष्ट्रिय छुट्टीको रुपमा मनाउन सरकारसँग माग गरे। कार्यक्रममा अन्य वक्ताहरुले मुलुकमा पछिल्लो समयमा शहिदहरुको अवमुल्याङकन हुदै गएको भन्दै राष्ट्र निर्माता पृथ्वी नारायण शाहको भने अवमुल्याङकन नहोस भनेर सरकारको ध्यानाकर्षण गराएका थिए।

प्रकाशित मिति: : 2020-01-11 04:11:45

प्रतिकृया दिनुहोस्