एनआरएनए निर्वाचन

जित पक्का छ, सबैको साथ र समर्थन पाएको छु: गौरीराज जोशी

गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघाराैँ महाधिवेशनमा महासचिव पदमा उम्मेदवारी दिएका गौरीराज जोशीको चुनावी माहोल उत्साहपूर्ण देखिएको छ। 

अमेरिका निवासी जोशी महासचिव पदमै दोहोरिएर उम्मेदवारी दिएका हुन्। प्रचार–प्रचारमा खटिएको उनको सचिवालयका अनुसार जोशीमा पक्षमा खुल्ने र समर्थनका लागि मतदाताहरूमा उत्साह बढिरहेको छ। उनी आफैँ पनि जितका लागि ढुक्कप्राय रहेको भन्दै विश्वभरिका मतदाताहरूले विश्वास देखाएको पनि बताएका छन्। 

'एक हिसाबले त म ढुक्कजस्तै छु। संसारभरिका सबै साथीहरूले मलाई निकै हौसला, उत्साह र समर्थन दिनुभएको छ' जोशी भन्छन् 'सधैजस्तै यसपालि हाम्रा सबै प्रतिनिधिहरूले नेतृत्व छान्दा आफ्नो सबैभन्दा उत्कृष्ट विवेक प्रयोग गर्नुहुनेछ भन्ने विश्वास पनि मलाई छ।'

सन् २००५ देखि गैरआवासीय नेपालीको अभियानमा जोडिएका जोशी आफू पद ओगट्नमात्रै नभएर काम गरेर देखाउनकै लागि यो पदमा उम्मेदवारी दिएको बताउँछन्।

पछिल्लो समय कामभन्दा पनि स्टन्ट गर्ने प्रवृत्तिले एनआरएनएको गरिमा घट्दै गएको बताउँदै उनले आफूले भने कामको नतिजामा विश्वास गर्ने बताउँछन्।

उनले आफ्नो व्यक्तिगत स्वार्थभन्दा पनि गैरआवासीय नेपालीको मुद्दामा केन्द्रित रहन संघका अरू उम्मेदवारहरूलाई अपिलसमेत गरेका छन्।

‘कुरा मात्र होइन, काम गरेर प्रमाणित गर्नुपर्छ,’ जोशीले भने, ‘संस्थालाई सबैको साझा र दीगो बनाउनु अहिलेको आवश्यकता हो।’

जोशी बौद्धिक तथा युवामाझ लोकप्रिय मानिन्छन्। अमेरिकामा आइटी क्षेत्रमा सफल व्यवसायी मानिने उनी लामो समयदेखि एनआरएनएको अभियानमा सक्रिय र सफल छन्।

एनआरएनएलाई प्रविधिमैत्री बनाउन एमआइएस सिस्टम, फेस भेरिफिकेसन सिस्टमका योजनाकार हुन्– जोशी। संघको यसपालिको चुनावमा पहिलो पटक प्रतिनिधिले आफ्नै ठाउँमा बसेर आफ्ना उम्मेदवारहरूलाई मतदान गर्दैछन्।

चितवनमा जन्मिएका जोशी सन् १९९७ मा अध्ययनका लागि अमेरिका गएका थिए। उनले अमेरिकामै आइटीको अध्ययन पूरा गरे। र, पछिल्लो समय उनी आइटीबाहेक रियल स्टेटको कारोबारमा पनि उनले लगानी बढाएका छन्।
 
नेपालमा पनि इन्सुरेन्स, बैंकिङ क्षेत्र, प्रविधि, हाइड्रोलगायत विभिन्न क्षेत्रमा समेत लगानी छ। जोशीले भारतमा पनि आइटी व्यवसाय विस्तार गरेका छन्।

सन् २००५ देखि एनआरएनए अभियानमा जोडिएका जोशीले नेपाली समाज टेक्सासको अध्यक्ष भएर काम गरिसकेका छन्। उनी एनआरएनए एनसीसी अमेरिकाको आजीवन सदस्य हुन्।

यस्तै, ‘मेम्बरसीप कोअर्डिनेटर’ भएर काम गरिसकेका जोशी २०१५ देखि एनआरएनएमा झन् सक्रिय छन्। उनीसँग एनआरएनएको अमेरिकी क्षेत्रीय संयोजक भएर काम गरेको अनुभव छ। जोशी २०१९–२०२१ कार्यकालमा सचिव पदमा अत्याधिक मतसहित विजयी भएका थिए।

प्रकाशित मिति: : 2023-10-17 19:48:00

प्रतिकृया दिनुहोस्