इराकमा अमेरिकी सेनालाई लक्षित गर्दै फेरि मिसाइल हमला

दुजेल जिल्ला बगदाददेखि ५० किलोमिटर उत्तरमा पर्छ। यस्तै, बलद बेस बगदाददेखि ८० किलोमिटरको दूरीमा रहेको छ। 

राेयटर्स

तिकरित(इराक)

इराकको बगदादस्थित अमेरिकी सैन्य बेस क्याम्पलाई लक्षित गर्दै इरानले ब्यालेस्टिक मिसाइल झारेको दुई दिन नबित्दै पुनः अर्को मिसाइल झारेको आशंका गरिएको छ। 

तर, बिहीबार राती रकेट इराकको उत्तरी सलाउद्धिन प्रान्तको दुजेल जिल्लामा रहेको फदलन क्षेत्रमा खसालिएको बताइएको छ। यो क्षेत्र बलद एयर बेस नजिकै छ, जहाँ अमेरिकी सेना बसोबास गर्छन। 

रकेट कहाँबाट प्रक्षेपण गरियो यसको खुलासा भएको छैन। तर, श्रोतले हमलामा कसैलाई क्षति नपुगेको बताएको छ। दुजेल जिल्ला बगदाददेखि ५० किलोमिटर उत्तरमा पर्छ। यस्तै, बलद बेस बगदाददेखि ८० किलोमिटरको दूरीमा रहेको छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका शीर्ष जर्नेल कासिम सुलेमानीको हत्याको आदेश दिएपछि दुई देशबीचको सम्बन्ध निकै बिग्रिएको छ। दुई दिनअघि इरानले इराकस्थित अमेरिकाको दुई वटा बेस क्याम्पलाई लक्षित गरेर २२ मिसाइल खसाएको थियो। यो घटनामा ८० अमेरिकी मारिएको इरानी समाचारले पुष्टी गरेपनि अमेरिकी राष्ट्रपतिले अस्विकार गरेका छन्।

उनले राष्ट्रको नाममा सम्बोधन गर्ने क्रममा अमेरिकी सेनालाई कुनै प्रकारको चोटपटक नलागेको बताएका थिए। 
 

प्रकाशित मिति: : 2020-01-11 03:59:57

प्रतिकृया दिनुहोस्