बलियो भारत र कमजोर अफगानिस्तान विश्व कपमा आज भिड्दै

Agency

विश्व कपको सबैभन्दा बलियो भारत र सबैभन्दा कमजोर अफगानिस्तानबीचको खेल शनिवार साउथहाम्पटनमा हुँदैछ। यी दुवै टिम इंग्लिस पीचमा पहिलो पल्ट भिड्दैछन्।

भारतले ४ मध्ये ३ खेल जितेर विश्व कपमा आफ्नो बलियो दावेदारी प्रस्तुत गरिसकेको छ। एउटा खेल बर्षाबाट प्रभावित भएको थियो।

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया, चिरप्रतिद्धन्द्धी पाकिस्तान र दक्षिण अफ्रिकालाई पराजित गर्ने क्रममा भारतले विश्व कपमा आफ्नो दावेदारी प्रस्तुत गरेको हो।

अफगानिस्तानले ५ खेलमा एउटै जित निकाल्न सकेको छैन। अफगानिस्तान र भारतबीच विगतमा २ वटा खेल भएका छन्। जसमा भारत १ पल्ट जित निकाल्दै बलियो अवस्थामा छ। एउटा खेल ‘टाई’ भएको थियो। सन् २०१४ मा भएको खेलमा भारतले ८ विकेटले अफगानिस्तानलाई पराजित गरेको थियो।

अहिले भारतीय टिमको सबैभन्दा ठूलो चिन्ता भनेको शिखर धवन औलाको चोटका कारण प्रतियोगिताबाट बाहिरिनु हो। उनी अस्ट्रे्लियाविरूद्ध सतक बनाएको खेलमा औलामा चोट बोकेर प्रतियोगिताबाट बाहिरिएका थिए।

उनको स्थानमा ऋषभ पन्त १५ सदस्यीय टिममा समावेश भइसकेका छन्। आजको खेलमा उनले खेल्ने सम्भावना बलियो छ। किनभने अर्का अलराउन्डर विजय शंकरलाई पनि शुक्रबार नेट्समा जसप्रीत बुमराहको बलमा चोट लागेको थियो। उनी अनुपस्थित भएको खण्डमा पन्त टोलीको सदस्य बन्ने लगभग पक्का छ।

धवनको स्थानमा हाल केएल राहुल प्रारम्भिक जोडीको रुपमा उपकप्तान रोहित शर्मालाई सघाईरहेका छन्।

नियमित बलर भुवनेश्वर कुमार पनि कुर्कुच्चामा लागेको चोटका कारण आजको खेलमा अनुपस्थित हुनेछन्। उनको स्थानमा मोहम्मद सामीलाई खेलाउने सम्भावना बलियो छ।

अफगानिस्तानको तुलनामा भारतको बलिङ र ब्याटिङ दुवै बलियो मानिन्छ। रोहित शर्मा उत्कृष्ट फर्ममा छन्। उनले दुई वटा सतकको सहयोगले ३ खेलमा ३ सय १९ रन बनाइसकेका छन्। यस्तै, भारतको तीब्र बलरले प्रतियोगितामा १४ विकेट लिएका छन्। भारतीय स्पिनरको प्रदर्शन पनि यसपालिको विश्व कपमा प्रभावशाली छ। उनीहरूले ९ विकेट बाँडेका छन्।

अफगानिस्तानले आजको खेलमा कप्तान गुलबदिन नइबबाट थुप्रै आशा राखेको छ। उनले प्रतियोगितामा अलराउन्ड प्रदर्शन गरेका छन्। उनले प्रतियोगितामा ५ विकेट लिनुको साथै १ सय रन बनाएका छन्।

यस्तै, हसमतउल्ला शाहिदीले इंग्ल्यान्डविरूद्ध अर्धसतक बनाएका थिए। उनले ५ खेलमा १ सय ६५ रन बनाएका छन्। अफगानिस्तानको सबैभन्दा ठूलो कमजोरी विश्वका दुई उत्कृष्ट स्पिनर राशिद खान र मोहम्मद नबी फर्ममा नहुनु हो। राशिदले ५ खेलमा ३ विकेट मात्र लिएका छन्। उनले इंग्ल्यान्डविरूद्ध ९ ओभरमा १ सय १० रन खर्चेर क्रिकेट इतिहासकै सबैभन्दा खराब प्रदर्शन गरेका थिए।

नबी अहिलेसम्म विकेटविहिन छन्।

प्रकाशित मिति: : 2019-06-22 10:58:13

प्रतिकृया दिनुहोस्