गहवा माईको मन्दिरलाई माईस्थान मन्दिरको नामले पनि चिनिन्छ। श्रद्धा र भक्तिको केन्द्र माईस्थान मन्दिर नगरको ठिक केन्द्रमा अवस्थित छ। यस मन्दिरको मौलिक नाम गहवा माई हो।
माईस्थान भोजपुरी भाषाका दुई शब्दहरु माई र स्थान मिलेर बनेको हो। जसको अर्थ नेपाली भाषामा देवीस्थान हुन्छ।
वीरगन्जको मुटुमा रहेकी गहवा माई यहाँका मान्छेको लागि मात्र नभई आसपासका जिल्लालगायत भारतीयहरुको पनि आस्थाको केन्द्र मानिन्छ। यहाँ विशेषत: सन्तान प्राप्तिकाे भाकल र परीवारको सुख समृद्धिको लागि भक्तजन आउने गर्छन्। भारतीय व्यापारी पनि यस मेलामा व्यापार तथा किनमेल गर्न आउँछन्।
गहवा माई मन्दिर परिसरभित्र अनेकौं देवीदेउताका मुर्ति छन्। तर माता देवी दुर्गाको पूजा आराधनाको लागि माईस्थान लोकप्रिय छ। मन्दिकाे आधुनिक भवन ४ करोड लागतमा सम्पूर्ण वीरगन्जबासीको सहयोगमा बनाइएको गहवा माई समितिका पुर्व अध्यक्ष मदन गुप्ता बताउँछन्।
मार्बलले बनाइएको मन्दिर दुई तलाकाे छ। गर्भ गृहमा पुरानो गहवा माईको मुर्ति र सातवटा माताको पिण्ड राखिएको छ। माथिको तल्लामा चाँदीले बनेका नाग सहितको सातवटा माताको पिण्ड छन्। वीरगन्जमा देशका विभिन्न क्षेत्रबाट विभिन्न प्रयोजनले आउने सर्वप्रथम माईस्थान क्षेत्रमा प्रवेश गर्ने र दर्शन गर्ने गर्छन्। मन्दिरको अर्को आकर्षण मन्दिरको कलात्मक पक्ष पनि हो।
माईस्थान मन्दिर धार्मिक एवं सांस्कतिकरूपले अत्यन्त महत्त्वपूर्ण र गौरवयाेग्य छ। मन्दिरको बनावट सुन्दर र कलात्मक छ। दुर्गा मन्दिरको बाहिरी द्वारमा अनेक प्रकारका प्रतिमाहरु बनाइएका छन्। मन्दिरमा हिन्दु देविदेउतासँगै बुद्धको सानो स्तुप पनि स्थापित छ। जसले यहाँकाे सांस्कृतिक समन्वयलाई झल्काएकाे छ।
गहवा माईको इतिहास
गहवा माईको स्थापना कसरी भयो भन्ने कथा राेचक छ। मदन गुप्ता तथा मन्दिरका संस्थापकका चौथो पुस्ता अच्छेलाल प्रसाद कहारसँग गरीएको कुराकानी यस्ताे छ–
लगभग एक सय चालिस वर्ष पहिले भिस्वा गाउँका जिउत महतो कहारकाे सपनामा भगवती आइन्। गहवा माईले कहारलाई बाँसको एउटा छडीलाई फ्याँकन आदेश गरिन्। उनले लठ्ठी झरेको ठाउँमा मन्दिरको स्थापना गरि पूजा अर्चना गर्ने आदेश दिइन्। कहारले फ्याँकेको लठ्ठी अहिलेको मन्दिर भएको ठाउँमा खस्यो। जसकारण सोहि ठाउँमा गहवा माईको स्थापना भयो। गहवा माईलाई ग्राम देवी भन्ने गरिन्छ।
तराई मधेशमा हरेक गाउँको रक्षा गर्नका लागि ग्राम देवी, सातो माई र देउता ब्रह्म बाबाको स्थापना गर्ने चलन छ। अहिले पनि गाउँघरमा सो मन्दिर देख्न सकिन्छ। यसरी सातो माईको रुपमा सात वटा माटोको पिण्ड बनाई कहारले पूजा आराधना सुरु गरे। नजिकमै रहेको गहवा गाउँको द्वारमा माताको स्थापना भएको यस मन्दिरलाई 'द्वारदेवी' पनि भन्न थालियो। पछि 'द्वारदेवी' मन्दिरको नाम परिवर्तित भएर गहवामा रहेको नाताले गहवामाई नाम रहन गयाे।
सुरुमा पिण्ड आकारमा सानाे बनाइएकाे मन्दिरलाई गहवाका चुल्हाई चौधरी भन्ने व्यक्तिले मन्दिरको स्वरुप दिएका थिए। उनी व्यापारी थिए। भारतबाट सामान ल्याउने क्रममा राजाका सिपाहीहरुले उनलाई पक्राउ गरे र काठमाडाैं जेलमा पठाउने तयारी गरे। जब उनी अमलेखगन्जको आधा भाग पुगे, त्यसपछि ग्राम देवी गहवा माईको प्रार्थना गरे। भगवतीको कृपाले उनी जेलमुक्त भएपछि पहिलो पटक मन्दिरमा इटाको पर्खाल बनाए। राणा शासकले पनि मन्दिरलाई व्यवस्थित बनाउन सहयोग गरेका थिए।
एउटा भनाई छ श्री ३ चन्द्रशमशेर राणाको शासनकालमा मन्दिर पूर्ण व्यवस्थित अवस्थामा पुगेको थियो। श्री ३ सरकारले नै प्याकुरेल परिवारलाई मन्दिरको पुजारी घोषित गरिदिएकाले अहिले सो मन्दिर प्याकुरेल परिवारका सन्ततिले नै गहवा माईको पुजा, पाठ र सेवा गरिरहेका छन्। अहिले मन्दिरका मुख्य पुजारी राधेश्याम प्याकुरेल हुन्। पुरा परिवार नै गहवा माईको सेवामा समर्पित छन्।
वास्तविकतालाई प्रमाणित गर्ने कुनै अभिलेख वा ठोस लिखत उपलब्ध छैन। तर गहवा माईलाई स्थापना गराउने कहारका चौथो पुस्ताका सन्ततिहरु मन्दिरको प्रमाणका रुपमा सेवा गरिरहेका छन्।
औधाेगिक नगरी मेलामा परिणत
हिन्दुहरुको महान चाँड विजया दशमीलाई माईस्थानकाे मेलाले थप शोभनीय र आनन्ददायक बनाएको छ। वीरगन्जलाई मेलाको लागि घटस्थापनादेखि नै सजाएपनि यहाँ विशेष मेला सप्तमी र अष्टमीको दिन लाग्ने गर्छ। यस दिन वीरगन्जको बजारमा थामिनसक्नु भीड हुन्छ। मेलामा राखिएको जलेबी(जेरी) खाएर बालबालिका देखि वृद्धहरु पनि रमाउने गर्छन्।
विवाह भएर अन्त गएकी छोरी चेली पनि गहवा माईको मेलामा माईत आउने चलन छ। दशैंमा माईस्थान मन्दिरको ध्वजापताका पुनः रंगरोगन गरी बिजुलीबत्ती तथा रंगीचंगी फूलहरुले दुलही जस्तै सिङ्गारिन्छ।
गहवा माईको मेला हेर्न हजारौको संख्यामा प्रत्येक वर्ष पर्सा बाहेक बाराको कलैया, जीतपुर, सिमग, पथलैया, निजगढ, रौतहटको चन्द्रनिगाहपुरलगायत सीमा पारी भारतको बिहार तथा उत्तर प्रदेशबाट पनि भक्तजन आउने गर्दछन्।
गहवा माईको दर्शनको साथै व्यापारिक दृष्टिले पनि विभिन्न क्षेत्रको मानिसको आवागमनले गर्दा वीरगन्ज बजारमा विशेष चहलपहल देखिन्छ। यस मेलामा घरायसी सामान सस्तो मूल्यमा पाईने भएकाले तिहार र छठको लागि लत्ताकपडालगायत विभिन्न सामग्री किन्नेको पनि विशेष चहलपहल हुन्छ।
गहवा माईको मन्दिरसँगै १ किलोमिटरकाे दूरीमा विर्ता माईको मन्दिर पनि छ। विर्ता माईलाई गहवा माईको बहिनी भन्ने गरिन्छ। परम्पराअनुसार विर्ता माईलाई दशैंको फुलपातीको दिन नेपाली सेनाहरुको सहभागितामा डोला निकाली बाजागाजाका साथ दुबै दिदीबहिनीलाई भेट गराउने प्रचलन छ। जसकारण वीरगन्जको मुख्य चाेक घण्टाघरदेखि आदर्श नगर हुँदै मेलाको रौनक विर्ता माईको द्वारसम्म हुनेगर्छ।
फुलपातीको दिन नै गहवा माईको विशेष पुजा हुने भएकाले यस दिन फुलपाती भित्र्याइसकेपछि घरघरबाट मातालाई खोईच भर्ने परम्परा रहेको छ। खोइच भनेको मातालाई साडी चोलो तथा चुरामा पुरी–मटर, नारिवल तथा फलफुल श्रीङ्गार मन्दिरमा गई मातालाई अर्पण गर्नु हो। तराई मधेसमा खासगरी सौभाग्यको रुपमा यसलाई लिने गरिन्छ। गहवा माईको यो विशेष पुजा भगवतीलाई खुशी पार्न यहाँका महिलाहरु खोईच भर्ने गर्दछन्। खोइच प्रथाका लागि सीमा पारी भारतको रक्सौल मोतिहारी र पटनाबाट पनि श्रद्धालुहरु आउने गर्छन्।
दशैंभरी वीरगन्जबासी तथा दर्शनार्थी मेलामा घुमेर, पिङ खेलेर मनाेरन्जन गर्छन्। यसैले वीरगन्जको दशैंलाई आनन्ददायक चाँडको रुपमा लिने गरिन्छ।
आश्चर्यजनक बलिप्रथा
माईस्थान मन्दिरमा बलिप्रथाको छुट्टै नियम छ। असोजको अष्टमीको बलिको लागि चैत्र महिनामै एउटा भेडाको पूजा गरी कानकाटी छाडा छोडिन्छ। आश्चर्यजनक कुरा के छ भने उक्त भेडा दशैंमा घुम्दै स्वंयम बलिको लागि पुजारीको घर वा मन्दिर परिसरमा आईपुग्छ। सोहि भेडाको दशैंमा मन्दिरको तर्फबाट पशुबलीको रुपमा चढाइने गरिन्छ र त्यसपछि सर्वसाधारणद्वारा बलि चढाइन्छ।
बलिका लागि अनेक प्रकारका जीवहरु जस्तै बाेका, परेवा, हाँस इत्यादिको बलि चढाइन्छ। बलि दिएपछि जीवजन्तुका टाउकाे खाल्टो खनेर पुर्ने परम्परा छ। अन्तिममा एउटा सुंगुरको बलि दिएर बलिप्रथा समाप्त हुन्छ। मेलाको चहलपहल पनि नवमी लागेपछि कम हुदै जान्छ।
प्रकाशित मिति:
: 2019-10-05 16:13:19