कृषि विकास बैंकका कर्मचारीको पासवर्ड अनधिकृत रुपमा प्रयोग गरेर करिब ५ करोड रुपैयाँ चोरिएको घटनामा संलग्नताको आशंकामा थप एक जना पक्राउ परेका छन् ।
महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उक्त घटनामा संलग्न रहेको आरोपमा स्याङ्जा, वालिङका रामकृष्ण भुसाललाई बिहिबार पक्राउ गरेको हो ।
महाशाखाका प्रमुख एसएसपी सहकुलबहादुर थापाका अनुसार उनी प्रतीक्षा निर्माण सेवा कम्पनीका प्रोपाइटर हुन् ।उनको खातामा ६५ लाख रुपैयाँ कृषि विकास बैंकको लहान शाखाबाट पठाइएको भेटिएपछि उनलाई स्याङ्जाबाटै पक्राउ गरिएको हो ।
काठमाडौं ल्याइसकेपछि उनीसँग विस्तृत बयान दिइने बताइएको छ ।
प्रहरीले उनलाई भारतमा बसेका ह्याकरले खटाएको एजेन्ट मानेको छ । यसअघि प्रकरणमा संलग्न १२ जनालाई बुधबार प्रहरीले सार्वजनिक गरेको थियो ।