समाजको सकारात्मक परिवर्तनमा युवा भूमिका महत्वपूर्ण

गरीब, विपन्न र पिछडिएका समुदायको उन्ययन, हक अधिकार र पहिचानको सुनिश्चितताका लागि सुडी समाजका युवाहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने आवश्यकतामाथि गोष्ठिका सहभागीले जोड दिएका छन्।

सुडी समाज काठमाडौँ, युवा उपसमितिले काठमाडौँमा आयोजना गरेको ‘युवा भेला तथा बदलिँदो जीवनशैली’ विषयक गोष्ठिमा सुडी समाजका अगुवाले सुडी जातिको हकअधिकार, भाषा, धर्म, संस्कृति र पहिचानयुक्त आत्मसम्मानको प्रत्याभूतिका लागि सक्रियतापूर्वक लाग्नुपर्ने आवश्यकता औँल्याए।

समाजका अध्यक्ष अधिवक्ता रामकृष्ण निरालाले युवा वर्गको विकास र क्षमता अभिवृद्धिका लागि समाजले विभिन्न क्षेत्रसँग सहकार्य गर्दै अघि बढ्ने भन्दै समाजको विकास र समृद्धिका लागि युवाहरुको भूमिका उल्लेखनीय हुने बताए। “युवाको सहभागिता सामाजिक र आर्थिक क्षेत्रमा बढाउन आवश्यक छ, उनले भने।

नेपाल पत्रकार महासङ्घका सचिव शीतलप्रसाद महतोले कुनै पनि समाजको विकास र समृद्धिमा युवा वर्गको महित्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सुडी समाजका युवाहरुले पनि समाजभित्र देखिएका विभिन्न खाले विकृति, विसङ्गति र पछौटेपन न्यूनीकरणका लागि अग्रेणी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए। उनले समाजभित्रको यर्थाथतालाई आत्मसात गरेर सुडी समाजको सङ्गठनात्मक सुदृढीकरण र समाजको उन्नयनका लागि सचेतनामूलक र निःशुल्क स्वास्थ्य शिविरजस्ता कार्यक्रम लिएर ग्रामीण क्षेत्रसम्म पुग्न युवासँग आग्रह गरे।

वरिष्ठ अधिवक्ता सुरेन्द्र महतोले समाजको विकास र समृद्धिका लागि युवा एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अभिभावकको चाहनाभन्दा पनि आफूले चाहेको विषयमा उच्च अध्ययन गरी समाज र मुलुकको सर्वाङिण विकासमा लाग्न युवालाई आह्वान गरे। युवा समितिका संयोजक इञ्जिनीयर रामस्वरुप महासेठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा इञ्जिनीयर सत्यनारायण साह, डा चन्देश्वर महासेठ, महिला उपसमितिका माला महतो र प्रशिक्षक डा नवल पञ्जियारले सुडी जातको वेशभूषा, रहनसहन, भाषा, धर्म र संस्कृतिको प्रवद्र्धनका लागि समाजले पूर्ण प्रतिबद्धताका साथ कार्य गर्ने विश्वास व्यक्त गरे। रासस

प्रकाशित मिति: : 2019-09-09 19:05:20

प्रतिकृया दिनुहोस्