लक्ष्मीपुर पतारी गाउँपालिका बेथितिः ११

अख्तियारप्रति स्थानीयवासीको बढ्यो आशंका (भिडियाेसहित)

Breaknlinks
Breaknlinks

सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा हुँदै आएको अनियमितताको विरोधमा स्थानीय पटकपटक आन्दोलित भएका छन्। यो गाउँपालिकाको अनियमितताको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी नपरेको होइन। 

गाउँपालिकाका जनप्रतिनिधि र उनीहरूको आफन्तले मिलोमतोमा खुलेआम अनियमितता गरिरहेको समाचार शृंखलाबद्ध रूपमा बिएल नेपाली सेवाले उठाउँदै आइरहेको छ। 
बिएल नेपाली सेवाले शृंखलाबद्ध रूपमा प्रमाणसहित समाचार प्रकाशन गरेपनि भ्रष्ट्रचार उन्मुलनको जिम्मा पाएको अख्तियार भने मौन देखिनुले यहाँका स्थानीय मात्र होइन, प्रबुद्धवर्ग पनि अचम्मित परेका छन्। 

आँखै अगाडी अनियमितता

लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं–३ का वडाध्यक्ष हनुमान मण्डलको सहोदर भाई अनिरुद्ध मण्डलले योजना मुताबिक काम नगरेपछि स्थानीयले बिरोधस्वरुप केही सयमअघि पुल निर्माण कार्य अबरुद्ध पारेका थिए। (हेर्नुस् भिडियो) । 

भिडियोमा अनरुद्ध मण्डल र स्थानीयबीच पुल निर्माणको बिषयलाई लिएर भनाभन भएको दृष्य देख्न सकिन्छ।  

करिब ५० लाख रुपैयाँ लागत ‘स्टिमेट’ गरिएको पुल निर्माणमा अनियमितता भएको थाहा पाएपछि स्थानीयवासीले पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष अनिरुद्ध मण्डलको बिरोध गरेका थिए। उनीहरूले गाउँपालिका प्रमुख रामबल्लभ साह, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रबिन्द्र कुमार महत, वडा न–३ का अध्यक्ष हनुमान मण्डल र उनका भाई अनिरुद्ध मण्डलको मिलेमतोमा अनियमितता भइरहेको दावी गरेका छन्।  

यहाँको धेरै उपभोक्ता समितिमा बसेका गाउँपालिका अध्यक्ष रामबल्लभ साहका आफन्त राजेश कुमार साह र पप्पु साहको पनि अनियमिततामा मिलोमतो देखिन्छ।  

उपभोक्ता समितिमा बसेर अनियमितता गरेका उनीहरूले पतारी बजारमा पक्कि घर नै ठड्याएका छन्। पतारीबजारस्थित राजा हरिसिंह देवको मन्दिरको पूर्व दिशामा राजेशको घर छ। उनले आफ्नो एक तले घरमाथि अर्को तल्ला थपिरहेका छन्। 

राजेशको घरभन्दा करिब ३० मिटर पश्चिम–दक्षिणमा रहेको पप्पुको दुई तले घरमा भने एनसीसी बैंकको शाखा भाडामा बसेको छ।

गाउँपालिकाको विकास बजेटमा ब्यापक अनियमितता गरेको आरोप भोगेका लक्ष्मीपुर पतारी गाउँपालिका वडा न–३ का वडाध्यक्ष हनुमान मण्डलले पनि पतारी बजारभन्दा १ सय मिटर दक्षिणमा हालै पक्कि घर बनाएको भेटिएको थियो। वडाध्यक्ष मण्डलका भाई अनिरुद्ध पनि अहिले धमाधम पक्कि घर बनाइरहेका छन्। 

यस्तै गाउँपालिका प्रमुख साहले पतारी पोखरी जिर्णोद्धारको लागि गठित उपभोक्ता समितिको अध्यक्ष आफ्नै सहोदर भतिजा अशोक साहलाई बनाएर अनिमितता गरेको आरोप पनि स्थानीयको छ। 

विभिन्न उपभोक्ता समितिमा मधेशी दलितलाई डमीको रुपमा खडा गरेर तथा कृतिम उपभोक्ता समिति बनाएर लक्ष्मीपुर पतारी गाउँपालिकामा करोडौँ रुपैयाँ अनियमितता भएको पनि पाइएको थियो। 
यस गाउँपालिकामा मौलाएको बेथितिको विरोधमा स्थानीयले पटकपटक आन्दोलन मात्र गरेका छैनन्, अख्तियारलगायत सम्बन्धित निकायमा उजुरी पनि दिँदै आएका छन्। तर यहाँ मौलाइरहेको बेथितिको खोजीनीति र छानविन गर्न कसैले चासो दिएको छैन। 

‘अब त अख्तियारप्रति नै आंशका बढेर गएको छ,’ स्थानीय बेचु यादवले बिएल नेपाली सेवासँग भने, ‘यहाँको बेथितिबारे परेको उजुरीमा कार्यवाही नबढाए बर्दिबासस्थित अख्तियार कार्यालयमा धर्ना बस्न जान्छौँ।’
तर, प्रदेश न–२ हेर्ने अख्तियारी पाएको महोत्तरीको बर्दिबासस्थित अख्तियार कार्यालयका निमित्त प्रमुख कमल अधिकारीले भने गाउँलेको गुनासोप्रति आफूहरू गम्भीर भएको बताए। उनले भने, ‘गाउँपालिकामा हुँदै आएको बेथितिबारे परेको उजुरीमा कार्यवाही अघि बढेको छ। यो बिषय छिट्टै मिडियाबाट सार्वजानिक हुनेछ।’ 

अख्तियारका निमित्त प्रमुख अधिकारीले गाउँपालिकामा भएको अनियमितताको उजुरीबारे कार्यवाही अघि बढिरहेको बताए पनि सन्तोष मान्ने ठाउँ देखिएको छैन। एक बर्षअघि अख्तियारको टोली यहाँ भएको विकास निर्माणको स्थलगत निरीक्षण गरेर फर्किएको थियो। तर, हालसम्म कुनै अनुसन्धान अघि नबढाएकोमा स्थानीयले गुनासो गरेका छन्। 

यो गाउँपालिकामा बेथिति बढेको भन्दै केही समयअघि स्थानीयले गाउँपालिका कार्यालय तोडफोड गरेका थिए। उनीहरूले कार्यालयको बोर्ड समेत फ्यालिदिएका थिए। बेचु यादवका अनुसार स्थानीय नागरिक चरणबद्ध आन्दोलनमा उत्रिने तयारी गरिरहेका छन्। 

गाउँपालिका प्रमुख साहले भने अनियमिततामा आफ्नो संलग्नता अस्विकार गर्दै आइरहेका छन्। बिएल नेपाली सेवालाई प्रतिक्रिया दिँदै उनले भने, ‘यी सबै चुनाव हारेका विपक्षीले लगाएको आरोप हुन्।’ तर, उनले बिएल मिडियाले प्रकासित गरेको प्रमाणको विषयमा प्रतिक्रिया दिन मानेनन्। 

याे पनि

१) मधेशी दलित उभ्याएर लाखौँ अनियमितता

२) कृत्रिम उपभोक्ता समिति खडा गरेर करोडौँ अनियमितता

३) वडाध्यक्ष हनुमान मण्डलका दाजुभाइले पनि ठड्याए पक्कि घर (भिडियाेसहित)

४) अनियमितता गर्दै, घर ठडयाउँदै, अख्तियार मौन

५) सचिवबीच आफ्नै नाममा बजेट निकासा गर्ने होडबाजी

६) राजा हरिसिहं देवले खनेको पोखरीको नाममा ब्रम्हलूट (भिडियाेसहित)

७) लक्ष्मीपुर पतारीका स्थानीय भन्छन्ः अनियमितताको समाचार लेख्न पत्रकारहरू पन्छिन्छन् (भिडियाे)

८) तराईमा बढ्दो भ्रष्टाचार: गणतान्त्रिक नेपालका नवसामन्तवाद (भिडियाेसहित)

९) गाउँपालिका प्रमुख रामबल्लभ साहको अर्को अनियमितताको पोल खुल्यो

१०) गाउँपालिका प्रमुख रामबल्लभ साहको अनियमितताको अर्को पोल


 

प्रकाशित मिति: : 2021-01-24 20:47:00

प्रतिकृया दिनुहोस्