जीवन

जसलाई कार्टुनिस्ट बन्न पृथ्वीको आधा चक्कर लगाउनु पर्‍यो (भिडियोसहित)

द अल्केमिस्टका सेन्टीआगो जस्तै खुसी खाेज्दै पृथ्वीकाे आधा चक्कर लगाएका अनुपले कार्टुनकारितामा आफ्नाे खुसी भेटाएका छन्।

कमल विक

काठमाडौं

सेन्टीआगो स्पेनको एउटा चर्चमा सुतिरहेका बेला सपनामा जमिनमा गाडेको धन देख्छ। सपनामा देखेको त्याे धन खोज्न ऊ दुनियाँ चहार्दै इजिप्टको पिरामिडसम्म पुग्छ। धन खोज्न त्यहाँकाे जमिन खन्दै गर्दा दुई/तीन जना मान्छे आएर कुट्छन्। अनि, ती मानिसहरु साेध्छन्,‘तँ यहाँ किन खनेको?’

सेन्टीआगोले तत्काल जवाफ फर्काउँछ, ‘म स्पेनकाे एउटा चर्चमा सुत्दा सपनामा यहाँ धन गाडेको देखेको थिएँ, त्यही भएर खनेकाे।’ उसकाे जवाफ सुनेपछि तीमध्ये एउटा मानिस मरिमरि हाँस्दै भन्छ, ‘थुक्क! मैले सपनामा तँ सुतेकै चर्चमा धन देखेको छु। तर, म गएँ?’

‘ए, धन त म जहाँ सुतेकाे थिएँ, जहाँ सपना देखेकाे थिएँ, त्यही ठाउँमा पो गाडिएको रहिछ’ भन्दै सेन्टीआगो स्पेन फर्किन्छ। त्यसपछि आफू जहाँ सुतेर सपना देखेकाे थियाे, त्यही चर्चमा खन्छ र पैसा भेटाउँछ।

विश्व प्रसिद्ध साहित्यकार पाउलो कोएल्होद्धारा लिखित उपन्यास ‘द अल्केमिस्ट’काे याे कथा सिंगापुरकाे समुन्द्रमा अवस्थित विशाल पानी जहाजमाथि बसेर पढिरहँदा अनुप गुरुङले पनि पृथ्वीकाे आधा चक्कर लगाइसकेका थिए।

अनुपले पनि आफूलाई सेन्टीआगोसँग तुलना गर्न थाले- अहाे ! म पनि त खुसी खाेज्दै याे विशाल पानी जहाजमा रटान लगाइरहेकाे छु।

सिंगापुरकाे त्याे विशाल पानी जहाज, जहाँ १७/१८ वर्षमै अनुपले दैनिक १२ घण्टासम्म सार्वजनिक शाैचालयदेखि क्याविनसम्मकाे सरसफाइ गर्थे। त्याे पनि १० महिनासम्म एक दिन पनि बिदा बस्न नपाइने। निरन्तर काम काम काम!

अनुप पनि आफूले चाहेकाे खुसी नेपालमा नभेटाएपछि सिंगारपुर पुगेका थिए।

अनुप वि.सं. २०४० सालमा माेरङकाे कानेपाेखरी गाउँपालिकास्थित रमाइलाे भन्ने ठाउँमा जन्मिएका थिए। बुबा गाउँकै हाइस्कुलका प्रधानाध्यापक थिए। त्यतिबेलाकाे हेडमास्टर सबैकाे हाइहाइ, अनुपकाे बाल्यकालमा त्यस्ता कुनै कठिनाइहरु आएनन्। खाली हेडमास्टरकाे छाेराले राम्राे पढ्नुपर्छ भन्ने मात्रै थियाे। उनीमाथि दुई दिदीहरु थिए, दिदीकाे मायाले हुरुक्कै।

यस्ताे परिवेशमा हुर्किएका अनुप कक्षामा कहिल्यै सेकेण्ड हुनु परेन। पढाइमा अब्बल थिए। उनले १२/१३ वर्षकाे उमेरसम्म त स्कुले किताब मात्रै हाेइन, साहित्य र दर्शनका किताबहरु पढ्ने भइसकेका थिए। साेभियत संघका अनुबादित किताबहरु त उनले खाेजी-खाेजी पढे।

एसएलसी उत्तीर्ण गरेपछि उनी विज्ञान विषय पढ्न कक्षा ११ मा भर्ना भए। तर, त्याे उनकाे इच्छाविपरीत थियाे। उनी फाइन आर्टस् पढ्न चाहन्थे। किनभने, उनी कार्टुन र चित्रकालप्रति बहुत रुचि राख्थे। उनी बात्स्यायन (दुर्गा बराल)का कार्टुनकाे फ्यान थिए। आफू पनि कार्टुन काेर्थे। तर, हेडमास्टरकाे छाेराे, कहाँकाे कार्टुन सार्टुनतिर लाग्नु, साइन्स पढेर डाक्टर बन्नेपर्छ भन्ने बुबाकाे दबाब थियाे।

अनुपका बुबा उनलाई डाक्टर बनाउन चाहन्थे। अनुपकाे ध्यान भने कला (आर्ट)मा थियाे। त्यसैले परिवारमा कुरै मिलेन। अनुपले आफ्नाे इच्छाविपरीतकाे विषय पढ्नै सकेनन्, कलेज छाडे।

‘कलातिर झुकाव राख्ने म भावुक स्वभावको थिएँ, साइन्स पढियो। भ्यागुता र मुसा चिर्दा त मलाई डाक्टर बन्ने रहर नै लागेन अनि कलेटबाट ड्रप आउट भएँ,’ अनुपले बिएल नेपाली सेवासँग भने।

अनुपले कलेज छाडेपछि उनका बुबा रिसाएर बाेल्नै छाडे। समाजमा मास्टरकाे छाेराे बिग्रियाे भनेर खिसि गरियाे। आफूले साेचेकाे जस्ताे भएन, परिवार बाेल्नै छाड्याे, रनभुल्लमा परेका अनुप ब्रिटिश आर्मीमा भर्ती हुन गएका थिए। तर, पास हुन सकेनन्। त्यसपछि त जीवन झन अँध्याराे बन्दै गयाे। उनलाई के गराैँ र कता जाऔँ भन्ने भयाे। त्यसपछि सिंगापुर हान्निए।

‘फाइन आर्ट पढ्न मन थियो, त्यो पूरा भएन। माओवादी द्वन्द्व चर्किएकोले काठमाडौँ आएर पढ्न मन पनि लागेन। द्वन्द्वले रुमलिएकाे देशमा अब केही पनि हुँदैन जस्ताे लागेकाे थियाे। काका बाजेको सहयोगमा सिंगापुर गएँ,’ अनुपले सुनाए।

देशमा निसासिएर सिंगापुरकाे पानी जहाजमा हाउस किपिङकाे काम गर्न पुगेका अनुपलाई त्यहाँ पनि सहज भएन। पाँच हजार मानिस अट्ने विशाल पानी जहाज, हेर्दा सिंगै सहरजस्तै थियाे। सरसफाइकाे काम दैनिक १२ घण्टासम्म गर्नुपर्थ्याे। मानिसले यतिसम्म पनि काम गर्न सक्ने रहेछ भन्ने थाहा पाएर अनुप आफैं अचम्ममा परेका थिए। अनि भन्न थाले- अहाे! याे त पुँजीवादीहरुकाे कन्सल्टेसन क्याम्पजस्तै रहिछ।

‘यो त क्याप्टालिसहरुको श्रम कैद हो। अरु श्रम कैदमा जबर्जस्ती हुल्छन्, त्यहाँ चाहिँ आफ्नो स्वइच्छाले गइन्छ। हा हा हा... कैदी पनि इच्छाले हुनुपर्ने,’ अनुपले आफ्ना तिता अनुभव सुनाए।

त्यही क्याप्टालिसहरुको श्रम कैद (अनुपकाे शब्दमा)मा काम गर्दै गर्दा अनुपलाई एक जना गेष्ट (अतिथि)ले दिएका थिए, पाउलो कोएल्होकाे ‘द अल्केमिस्ट’ किताब। हाे, अनुपले पानी जहाजमा त्यही ‘द अल्केमिस्ट’मा सेन्टीआगोकाे कथा पढिरहेका थिए। त्यही किताबले अनुपकाे जीवनकाे यात्रा नयाँ बाटाेतिर माेडियाे। ‘मैले त्याे किताब पढेर सकेँ। त्याे किताबले मलाई धेरै प्रभावित बनायाे, अनि त नेपाल फर्किने साेच बनाएँ,’ अनुपले भने।

त्याे किताबकाे प्रमुख पात्र सेन्टीआगोले जस्तै अनुपले पनि त्यतिबेलासम्म पृथ्वीकाे आधा चक्कर लगाइसकेकाे थिए। सिंगापुरमा रहँदा अनुपले दक्षिण एसियाका धेरै देशहरु घुम्न पाएका थिए। साथीहरुसँग अमेरिकासम्म पुगेका थिए। सँगै गएका साथीहरु उतै अमेरिका भागे तर उनलाई अमेरिका पनि बस्न मन लागेन। अनि नेपाल फर्किए।

सिंगापुर पुगेर अनुपले धेरै कुराकाे अनुभव गर्न र नयाँ काम सिक्न पाए। श्रम के हाे भन्ने कुरा बुझे, अनुशासन जाने।

अनुप नेपाल आएर सन् २००७ काे अन्त्यतिर आर्टस् पढ्न काठमाडाैँकाे उत्तरढाेकास्थित सिर्जना कलेज अफ फाइन आर्टमा भर्ना भए।

‘सिंगापुरमा दु:ख गर्दा मलाई के लागेको थियो भने- ह्या, मैले नेपाल गएर पढेँ भने त नेपाल टप नै गर्छु यार भन्ने सोच्थेँ। अनि यहाँ आएर मैले पढेँ। अचम्मको कुरा त के छ भने, मैले आइएफलमा यहाँ (सिर्जना कलेज अफ फाइन आर्टमा) टपेँ। ब्याचलरमा आर्टस् मात्रै होइन, टियुको मानवीकीशास्त्र नै टप गरेँ,’ अनुपले त्यतिबेलाकाे त्याे लाेभलाग्दाे प्रगति सुनाए। अनुप त्यतिबेला तत्कालीन राष्ट्रपति रामवरण यादवमार्फत ‘नेपाल विद्याभुषण पदक’बाट सम्मानित भएका थिए।

आफ्नाे पढाइ पूरा गरेपछि अनुपलाई त्यस्ताे कुनै गाह्राे भएन। आर्टकाे काम प्रशस्तै पाउन थाले। पेन्टिङ पढे पनि उनकाे कार्टुनप्रति बढी लगाव थियाे। उनले विस्तारै विद्यालयका पाठ्यपुस्तकहरुमा इलुट्रेसनकाे काम थाले। पेन्टिङकाे एक्जिभेसन (प्रदर्शनी) पनि गरे।

त्यही क्रममा उनलाई कुनै पत्रिकामा कार्टुन बनाउने रहर लाग्याे। र, आफ्ना गाउँले दाइ थाहा खबर डटकमका सम्पादक तीर्थ काेइरालालाई कुनै पत्रिकामा खाली भए काम खाेजिदिन अनुराेध गरे। तीर्थ दाइले पनि आफ्नाे मिडियामा खाली भएकाे भन्दै ट्रयालकाे रुपमा १/२ महिना हेराैँ न त भनेर कार्टुन बनाउन लगाए।

अनुपले थाहा खबर डटकमा वि.सं. २०७८ फागुन १७ गते ‘शिलान्यास’ शीर्षकको कार्टुन छापेर मिडियामा कार्टुन यात्राको शिलान्यास गरेका थिए। अनुपले थाहा खबरमा पहिलो पटक बनाएको ‘शिलान्यास’ शीर्षकको कार्टुनमा एमाले अध्यक्ष केपी शर्मा ओलीको शिलान्यास मोहलाई व्यङ्ग्य गरिएको छ।

अनुपले सुरुमा त परीक्षणकाे रुपमा कार्टुन बनाएका थिए। तर, उनकाे पहिलाे कार्टुन नै हिट भयाे। ‘एस्साे एक/दुई महिना गरेर हेराैँ न त’ भनेकाे थाहा खबरले पहिलाे कार्टुनपछि अनुपसँग कन्ट्याक साइन गर्‍याे। त्यसयता अनुपले थाहा खबरमा निरन्तर कार्टुन बनाउँदै आइरहेका छन्। र, उनका कार्टुन लगातार हिट भइरहेका छन्। उनले हालसम्म थाहा खबरमा २ सय ५० भन्दा बढी कार्टुन बनाइसके। अनुपले गत स्थानीय तहकाे निर्वाचनका बेला बालेन साहकाे कार्टुन बनाएका थिए, जसले अत्यधिक चर्चा कमाएकाे थियाे। उनकाे उक्त कार्टुन विभिन्न टि-सर्टमा प्रिन्ट गरेर चुनाव प्रचारप्रसार गरिएकाे थियाे।

त्यस्तै उनले अफगानस्तानमा अमेरिकी रवैयाबारे बनाएकाे कार्टुनले पनि निकै चर्चा पाएकाे थियाे। उनकाे साे कार्टुनमा अमेरिका सन् २००१ मा अफगानस्तानमा आउँदा जहाजबाट बम खसाल्दै आएकाे र सन् २०२१ मा अफगानस्तानबाट जाँदा जहाजबाट मान्छे खसाल्दै गएकाे देखाइएकाे थियाे। उनकाे साे कार्टुन चिनियाँहरुले अत्याधिक शेयर गरेर अमेरिकी रवाफप्रति विराेध गरेका थिए।

अनुप गायक प्रेमध्वज प्रधानलाई आफ्नाे आदर्श व्यक्तित्व मान्छन्। र, त बनाएका छन् उनकै पेन्टिङ।

अनुपले थाहा खबरमा बनाएका कार्टुनहरुले दिनप्रति दिन चर्चा बटुलिरहेका छन्। उनलाई कार्टुनकै माध्यमबाट धेरैले चिन्ने गर्छन्। उनका प्रशंसक पनि उत्तिकै छन्। उनका कार्टुनहरु हजाराैँले शेयर गर्छन्। विगतमा साइन्स पढ्न छाडेर आर्टतिर लागेकाे भन्दै बाेल्न छाडेका उनका बुबा नै अनुपकाे कार्टुनकाे पहिलाे शेयरकर्ता हुन्।

यसरी द अल्केमिस्टका सेन्टीआगो जस्तै खुसी खाेज्दै पृथ्वीकाे आधा चक्कर लगाएका अनुपले कार्टुनकारितामा आफ्नाे खुसी भेटाएका छन्। उनी हिँड्दा, डुल्दा, खाँदा, बस्दा, सुत्दा, उठ्दा जतिबेला पनि कस्ताे कार्टुन बनाउने भनेर साेचिरहन्छन्। ‘कार्टुनप्रति निकै लत बसिसक्याे। हिँड्दा, डुल्दा, बस्दा, सुत्दा कार्टुन कतिबेला फुर्छ पत्तै हुँदैन,’ अनुपले अनुभव साट्दै भने, ‘कति कार्टुन मैले निदाएकाे बेला सपनामै बनाइदिन्छु। सुतेकाे बेला सपनीमा के–के साेच आउँछ, बिहान उठ्याे काेर्‍याे।’

अनुप कार्टुनकारितामा एक विशिष्ट उचाइमा पुगिसकेकाे छन्। उनलाई अहिले धेरैले चिन्छन्, नेपालमा उनकाे कार्टुन नदेखेका मानिसहरु सायद कमै हाेलान्। अहिले उनी यही दुनियाँमा रमाइरहेका छन्। नयाँ प्रतिभा उत्पादनकाे लागि आफूले जुन कलेजमा पढेका थिए, अहिले त्यहीँ पेन्टिङ पढाउँछन्।

सफलताकाे याे उचाइमा पुगेपछि पनि उनलाई अझै याद आउँछ- आर्ट पढ्छु भन्दा घरबाट अपहेलित हुनु परेकाे, विराटनगरमा गीत गाउँदै हिँड्दा ताेरी ग्याङ भनेर अरुले गिज्याएकाे अनि सिंगापुरमा कठाेर परिश्रम गरेकाे। अध्ययनमा जाेड दिने उनी इतिहास पढ्नुपर्छ र वर्तमानमा इतिहासमा भएका गल्ती दाेहाेर्‍याउनु हुँदैन भन्ने मान्यता राख्छन्।

अनि अन्तिममा अप्टिमिस्टिक निलिजमको सारांश सुनाउँदै भन्छन्, ‘यो पृथ्वी नै भोलि रहेन भने सांसारका सम्पूर्ण जोड/घटाउमा कुनै फरक पर्दैन नि, अर्थात् हाम्रो अस्तित्व केही पनि होइन। अब बाँच्नु र नबाँच्नुको कुनै औचित्य छैन भने किन नबाँच्ने? हाँस्नु र रुनुको कुनै औचित्य छैन भने किन नहाँस्ने?’

भिडियाे:

कमल प्रभात विकाका थप स्टाेरीहरु:
प्रकाशित मिति: : 2024-05-27 09:14:00

प्रतिकृया दिनुहोस्