मुस्कानका बाबुका दुःख- मसालेदार समाचार बनाउनेले हैरान बनाए (भिडियोसहित)

एसिड आक्रमणमा घाइते भएकी मुस्कान खातुनका बुबा आमा। तस्बिरः बिएल

एसिड आक्रमणमा झण्डै ज्यान गुमाएकी आफ्नो छोरीलाई पुरानो अवस्थामा फर्काउन रसुल अन्सारी दिनरात खटिएका छन्। 

गत शुक्रबारदेखि उनको बास नै कीर्तिपुर बर्न अस्पतालमा छ।

रसुललाई यतिबेला उपचारका लागि पैसा जोहो कसरी गर्ने भन्ने तनाव छ।

यस्तैमा पनि एसिड आक्रमण जस्तो कुरुप घटनालाई अतिरञ्जित गर्न उद्दत एउटा समूहका कारण रसुल थप तनावमा परेका छन्।

गत शुक्रबार वीरगञ्जको छप्कैया–३ मा स्कुल पढ्न जाँदै गर्दा मुस्कान खातुनलाई गणेशमान चौकमा एसिड आक्रमण भएको थियो।

घटनामा संलग्न २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने रसुल छोरीको उपचारका लागि राजधानी काठमाडौंमा छन्।

एसिड पीडित मुस्कानको अस्पतालबाट सरकारलाई आग्रह–दोषीलाई घण्टाघरमा झुण्ड्याएर मारियोस् (भिडियाे सहित)

उनी श्रीमति र कान्छी छोरीसहित अस्पतालमा कुरेर बसिरहेका छन्। उनलाई अहिले छोरीको शरीर तथा अनुहारमा एसिडले बनाएको दाग कसरी हटाउने भन्ने चिन्ताले घेरेको छ।

तर, युट्यूबमा फिल्म बनाउने जमातका कारण रसुल तनावमा छन्। अस्पतालमा मुस्कानको युट्युब बनाउन लालायित सयौंको संख्यामा रहेका युट्युब प्रयोगकर्ताले रसुललाई घेरेका छन्।

कोठामै बसेर ‘यसरी अनुहार हेर्दै मुस्कान रोइन्? अब के हुन्छ मुस्कानलाई?’ भन्दै युट्युब बनाइरहेका छन्।

यसले मुस्कानलाई झन् बढी तनावमा पारेको छ।

बीएल नेपाली सेवाले मुस्कानको एसिड हमलाको घटनालाई सुरुदेखि नै उठाउँदै आइरहेको छ।

यसै सिलसिलामा सोमबार अस्पताल परिसर पुगेको बीएल टिमलाई देखेपछि रसुल जंगिए। उनी भन्दै थिए–‘छोरीको अवस्था अझै के हुने हो पत्तो छैन। निको त होला तर पहिलाको जस्तै सग्लो अनुहार देख्न नपाइएला।’

उनी आफू निकै पीडामा भएको तर मिडियाले अनावश्यक मसला बनाएको भन्दै प्रश्न गरे, ‘के मिडियाको धर्म भनेको पीडितलाई पीडा दिनु हो? जुन कुरा मैलै भन्दै भनेको छैन, त्यो कुरालाई मुख्य समाचार बनाएर मिडियाले झनै दुःख दियो।’

उनले सबै मिडियातर्फ इंकित गरेनन्। तर, केही मिडियाले पीडा थप्ने काम गरेको भन्दै गुनासो गरे, ‘मिडिया आउनु पर्छ। हाम्रो पीडा देखाइदिनु पर्छ। तर, यहाँ पीडा देखाउने भन्दा पीडा थप्ने काम भयो।’

मुस्कानको मसालेदार समाचार बनाउन यति बेला युट्युब च्यानलको र्कीतिपुर अस्पतालमा निकै घुइँचो लागेको छ।

थरिथरीका युट्युब च्यानलले दुःख दिन थालेपछि अहिले मुस्कानका बाबुले क्यामेरा बोकेर आउने मान्छेलाई भित्र छिर्न नदिन सुरक्षा गार्डलाई अनुरोध गरेका छन्।

उनले आफ्नो परिवारको दुःखलाई स्थानीय सरकारले आफ्नो दुःख सम्झेको बताए। ‘आज बिहानमात्र मुख्यमन्त्री लालबाबु राउत आउनु भयो। उहाँले उपचारको चिन्ता नलिनु भन्नु भएको छ,’ उनले भने। उनले आफ्नो दुःखमा साथ दिने अन्य राजनीतिककर्मी र स्थानीयवासीलाई धन्यबाद दिए। 

प्रकाशित मिति: : 2019-09-09 17:16:51

प्रतिकृया दिनुहोस्