लुटपाटमा संलग्न ८ जना हतियारसहित पक्राउ (भिडियाे सहित)

लुटपाटमा संलग्नहरू। तस्बिरः बिएल

माछापोखरीबाट हतियारसहित पक्राउ परेका ८ जनाको समूहलाई प्रहरीले सार्वजनिक गरेको छ।

काठमाडौं महानगरपालिका १६ बालाजु माछापोखरीस्थित हाई रेष्टुरेण्ट एण्ड डान्सबारबाट शनिबार सानो चाइनिज पेस्तोल २ थान, सोको गोली ४ राउण्ड र नक्कली सुन १ किलोसहित पक्राउ परेका ८ जनालाई आइतबार प्रहरीले सार्वजनिक गरेको हो।

पक्राउ पर्नेहरुमा काठमाडौं जरङ्खु बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका १ का २९ वर्षीय राम बहादुर तामाङ, जरङ्खु बस्ने नुवाकोट बिदुर नगरपालिका ७ का २७ वर्षीय पिटर तामाङ, फुटुङ बस्ने गोरखा अजिरकोट गाउँपालिका ४ का ३८ वर्षीय कुशल अधिकारी, शेषमति बस्ने नुवाकोट बिदुर नगरपालिका १० का २५ वर्षीय धर्मराज तामाङ, नेपालटार बस्ने धादिङ खनियाबास गाउँपालिका ५ का २६ वर्षीय बिजय तामाङ, स्वयम्भू बस्ने रसुवा छोदिम्बु गाउँपालिका ४ का ३० वर्षीय योर्साङ लामा, सतुङगल बस्ने गुल्मी ईस्मा गाउँपालिका ५ का ३० वर्षीय युवराज भण्डारी, रसुवा उत्तरगया गाउँपालिका ६ का ३६ वर्षीय छिरिङ तामाङ र माकलबारी बस्ने नुवाकोट तारकेश्वर गाउँपालिका १ का २८ वर्षीय राजन तामाङ रहेका छन्।

हाई रेष्टुरेण्ट एण्ड डान्सबारमा लुटपाट र डकैतीबारे योजना बनाइरहेको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

लुटपाटमा प्रयोग भएका हतियार र लुटपाट गरिएको सामानसहित उनीहरूलाई आइतबार सार्वजनिक गरिएको हो।

उनीहरूले भदौ १९ गते सामाखुसी बसपार्कस्थित मुस्ताङ गेष्ट हाउसको कोठा नम्बर ४०४ बाट नवलपरासी बर्दघाट १५ घर भइ बालकृष्ण सुनचाँदी पसल सञ्चालन गर्ने योगेश विकलाई टाउकोमा पेस्तोल राखेर लुटपाट गरेका थिए।

 

प्रकाशित मिति: : 2019-09-08 14:47:14

प्रतिकृया दिनुहोस्