एसिड पीडित मुस्कानको उपचारका लागि परिवारलाई पैसाको चिन्ता

बिएल

रसुल अन्सारी, वीरगञ्ज छप्कैया–३ की एसिड पीडित मुस्कान खातुनका बुवा। शुक्रबार बिहान आफ्नो ५ सन्तानको खानाको जोहो गर्न घरबाट निस्किन लागेका थिए। 

गत वर्षमात्र आफ्नो जेठी छोरीको विवाह सम्पन्न गराएका रसुलले ३ लाख रुपैयाँको ऋण थाप्लोमा बोकेका थिए। बच्चाबुच्ची र श्रीमतिसहित ७ परिवारको पालनको जिम्मा बोकेका रसुल गत वर्षदेखि यसै पनि तनावमा थिए।

त्यसमाथि शुक्रबार अर्को संकट आइलाग्यो। माइली छोरी मुस्कान नियमित झैं स्कुल जान बिहानै घरबाट निस्किएकी थिइन। सवा ६ बजे बिपत्तिको खबर घरमा ठोक्कियो।

याे पनि:  एसिड पीडित मुस्कानको आग्रह–दोषीलाई घण्टाघरमा झुण्ड्याएर मारियोस् (भिडियाे सहित)

कक्षा ९ मा अध्ययनरत मुस्कानलाई दुई केटाहरूले स्कुल जाने बाटोमा मौका छोपेर एसिडले आक्रमण गरे। यसले मुस्कानको बायाँ हातदेखि छाती सबै जलेको थियो।

एउटा बुवाका लागि यो असह्रय पीडा दिने खबर थियो। उनी खुट्टा लुलो बनाउदैं नजिकै रहेको घटनास्थलतर्फ लागे। त्यहाँबाट छोरीलाई लिएर नारायणी अस्पताल पुगे।

नारायणीमा राम्रो उपचार नहुने भएपछि रातारात एम्बुलेन्समा छोरीलाई राखेर राजधानीको कीर्तिपुरस्थित बर्न अस्पतालमा पुगे।

छोरीको पीडाका कारण सबै सुद्धी हराएका रसुललाई यतिबेला अर्को चिन्ताले सताएको छ। यसै त उनी ऋणको भारीबाट बाहिर निस्किन सकिरहेका छैनन्। त्यसमा पनि छोरीको उपचारका लागि आवश्यक पर्ने खर्चको चिन्ताले उनलाई गलाएको छ। तर, हिम्मत हारेका छैनन्।

याे पनि हेर्नुहाेस: कतारमा नेपालीको निधनः दुर्घटना कि ‘नेचुरल डेथ’ ?

मुस्कानमाथि एसिड आक्रमण भएको खबर राष्ट्रिय मिडियामा छ्यापछ्याप्ती भएपछि प्रदेश नम्बर २ का मनकारी सांसद प्रदीप यादवले घटनास्थलमै पुगेर पीडित परिवारलाई ५० हजार रुपैयाँ उपलब्ध गराए। प्रदेशका मुख्यमन्त्री राउतले पनि सरकारको तर्फबाट उपचारका लागि ५ लाख रुपैयाँ उपलब्ध गराउने घोषणा गरे। 

वीरगञ्जबाट काठमाडौं ल्याउने क्रममा र अस्पतालमा प्रारम्भिक उपचार गराउने क्रममा सांसद यादवले दिएको पैसा मात्र होइन, अन्सारी परिवारले गोजी टकट्काएर ल्याएको सबै पैसा खर्च भइसकेको छ।

अब मुस्कानको उपचार एसिडले बिग्रिएको शरीरको भागहरूमा प्लास्टिक सर्जरी गर्नुपर्ने छ। र, अस्पतालले आइतबार पैसा डिपोजिट गर्न आग्रह गरिसकेको छ। तर, थप उपचारका लागि अन्सारी परिवारसँग पैसा छैन। पैसाको जोहो कहाँबाट गर्ने? अन्सारी परिवारलाई अहिले संकटले घेरेको छ।

याे पनि: नेपाललाई हैजा ल्याउने देशको आरोपबाट बचाएका डाक्टरको कथा (भिडियोसहित)

रसुल भन्छन्, ‘प्रदेश सरकारले घोषणा गरेको पैसा तत्काल पाए, हामी छोरीको उपचार राम्रोसँग गर्न पाउँथ्यौं।’

प्रदेश सरकारले कागजी रुपमा शुक्रबार नै मुस्कानको उपचारका लागि आर्थिक सहयोगको घोषणा त गर्यो। तर, त्यो आइतबार आवश्यक परिसकेको अवस्थामा उपलब्ध गराए सुनमा सुगन्ध हुने थियो।

अहिले अन्सारी परिवार अकल्पनीय दुःखबाट गुज्रिएको छ। दुुःखको यस घडीमा प्रदेश सरकारले जति छिटो र प्रभावकारी ढंगले पैसा उपलब्ध गराउँछ यसले प्रदेशको जनताको मन जित्न सफल हुनेछ।

याे पनि: १६ वर्षमा आँखा गुमाएकी श्रृष्टी युरोपमा ‘मास्टर्स’ गर्ने पहिलो दृष्टिविहिन (भिडियो सहित)

किनभने अहिले मुस्कानको पक्षमा सारा देश उभिएको छ। र, उनको स्वास्थ्य लाभको कामना सबैले गरेका छन्।

रसुल वीरगञ्जमा आलमुनियमको झ्याल–ढोका बनाउने काम गर्छन्। उनी पहिले अरुको दोकानमा काम गर्थे। तर, पछिल्लो एक वर्षयता ऋण लिएर पार्टनरसिपमा

आलमुनियमको काम गरिरहेका छन्। उनको महिनाको आम्दानी २० हजार छ। जुन आम्दानीबाट उनले ७ जनाको परिवार पाल्नुपर्ने हुन्छ।

जेठी छोरीको विवाह यसै वर्ष भएका कारण उनलाई तराईमा चल्ने वैवाहिक रितिरिवाज दोना–गौना पनि गर्नुपर्ने बाध्यता छ। दोना–गौनामा काठसँग सम्बन्धित चिजहरू केटा पक्षलाई उपलब्ध गराउनु पर्छ।

रसुलसँग आम्दानीको अन्य बाटो छैन। त्यसैले उनी यतिबेला निकै छटपटिएका छन्।

शनिबार अस्पतालमा भेटिदा आफन्तसँग फोनमा थप ऋणको याचना गरिरहेका थिए। भन्दैथिए–‘केही समयका लागि ऋण दिनु न। म तिरी हाल्छु नी।’

याे पनि हेर्नुहाेस: मृगौला प्रत्यारोपण गरेका धुव्र विक्रम जसले विश्व कीर्तिमानी खेलाडी जन्माए (भिडियो रिपोर्ट)

प्रकाशित मिति: : 2019-09-07 23:02:53

प्रतिकृया दिनुहोस्