वीरगन्ज छपकैयाकी एक १५ वर्षिय मुस्लिम छात्रामाथि एसिड प्रहार भएको छ।
वीरगन्ज महानगरपालिका-६, गणेशमान चोक, छप्कैयास्थित घरबाट स्कुल जाने क्रममा रहेकी मुस्कान खातुनलाई शुक्रबार बिहान करिब ६ बजे दुईजना केटाले एसिड प्रहार गरि गम्भीर घाइते बनाएका हुन् ।
त्रिभुवन हनुमान माविमा कक्षा ९ मा अध्ययनरत् मुस्कानको एसिड प्रहारबाट एक साइटको भाग पुरै जलेको छ । उनको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।
मुस्कानलाई एसिड प्रहार गर्ने स्थानीय संसाद मिया र माजिद आलम रहेको प्रहरीले जनाएको छ । १६ वर्षका ती दुई युवकले मुस्कानको छाति, हात र मुखमा एसिड प्रहार गरेका थिए ।
एसिड प्रहार गर्ने मुख्य व्यक्ति संसाद आलमलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने मजिदको खोजी भइरहेको प्रहरीले जनाएको छ।
बालिकाकी माइजु रियाना खातुनका अनुसार घटनामा संलग्न दुबै चिनजानकै र छिमेकी हुन् ।
पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्र राठौरका अनुसार घटनाको अनुसन्धान भइरहेको छ ।