मुस्ताङमा र्याफ्टिङ ’ परीक्षण

हिमाल पारीको जिल्ला मुस्ताङको दामोदरकुण्डमा र्याफ्टिङ परिक्षण गरिएको छ।

ल्योघेकर गाउँपालिका भएर बग्ने कालीगण्डकी नदीमा र्याफ्टिङ जलयात्रा सञ्चालनको लागि परीक्षण गरिएको हो।

गण्डकी प्रदेशका सांसद इन्द्रधारा विष्टको पहलमा चराङदेखि घिलिङ सम्मको कालीगण्डकी नदीमा जलयात्राको परीक्षण गरिएको हो। नेपाल भ्रमण वर्ष २०२० र आन्तरिक भ्रमण वर्ष २०१९÷२२ लाई लक्षित गरेर कालीगण्डकीमा जलयात्राको सम्भाव्यता अध्ययन गर्न परीक्षण गरिएको सांसद विष्टले जानकारी दिए।

चराङदेखि बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको मुस्ताङ गेट भन्ने ठाउँसम्म जलयात्रा सञ्चालन गर्ने योजना रहेको बताइएको छ।

परीक्षणकारुपमा हालै तीनवटा डुङ्गामा २६ जना सहभागी भएर जलयात्रा गरिएको थियो।

प्रदेशका योजना तथा आर्थिक मामिलामन्त्री किरण गुरुङ पनि जलयात्रामा सहभागी भएका थिए। करीब १६ किलोमिटर दूरीमा जलयात्रा गरिएको थियो। मध्य भागमा पर्ने घिलिङको खोचमा साघुरो भएकाले जोखिम भएपछि अन्य ठाउँमा जलयात्राको सम्भावना देखिएको सहभागी प्राविधिकले बताएका छन्।

मुस्ताङमा पहिलो पटक जलयात्रा गरिएको हो। जलयात्राको परीक्षणका लागि पर्यटन बोर्ड र उद्योग वन वातावरण तथा पर्यटन मन्त्रालयले सहयोग गरेका थिए।

प्रकाशित मिति: : 2019-09-03 14:50:57

प्रतिकृया दिनुहोस्