तुलसीपुर नगरवासीलाई कलेजमा ५० प्रतिशत छुट

तस्बिरः बिएल

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालन गर्ने तुलसीपुर पोलिटेक्निक इन्स्टिच्युटमा नगरभित्रका विद्यार्थीलाई शुल्कमा छुट दिइने भएको छ।

तुलसीपुरलाई प्राविधिक शिक्षाको केन्द्रमा रुपमा विकास गर्ने उद्देश्यले सञ्चालन हुन थालेको कलेजमा यो वर्ष वन विज्ञानको तीनवर्षे कार्यक्रम सञ्चालन हुन थालेको शिक्षा शाखा प्रमुख भाष्करराज गौतमले जानकारी दिए।

‘कार्यक्रम सञ्चालनको सबै प्रक्रिया पूरा भएको छ, अब हामीले भर्ना कार्यक्रमलाई अगाडि बढाउन थालेका छौँ’, प्रमुख गौतमले भने।

उनले अन्य प्राविधिक शिक्षालयभन्दा सहुलियतदरमा विद्यार्थीलाई भर्ना गराउने उद्देश्यले शिक्षालय सञ्चालन गरिएको बताए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम केन्द्रले यो वर्ष ४० विद्यार्थी अध्यापन गराउने गरी अनुमति प्रदान गरेको छ । कलेजले असोज पहिलो साताबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरी भर्ना प्रक्रिया अगाडि बढाएको छ।

त्यस्तै कलेज सञ्चालनको तयारीका लागि सञ्चालक समिति अध्यक्ष एवं तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेको अध्यक्षतामा बैठक बसेर भर्ना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो । बैठकले गरेको निर्णयअनुसार कलेजमा अध्ययन गर्ने नगरवासीलाई ५० प्रतिशत शैक्षिक शुल्कमा छुट दिइनेछ ।

यसैगरी बैठकले पशुपति मावि हरिपौरीका विद्यार्थी, उत्कृष्ट अङ्क ल्याउने विद्यार्थी र शहीद परिवार, द्वन्द्वपीडित, मुक्त कमैया र विभिन्न आन्दोलनका घाइते परिवारका विद्यार्थीलाई पनि छुट दिने निर्णय गरेको छ ।

कलेज सञ्चालनका लागि वडा नं १२ को हरिपौरीमा सम्पूणै भौतिक संरचना निर्माण भइसकेको छ । पहिलो चरणमा विभिन्न कलेजबाट प्रवेश परीक्षा पास गरेका विद्यार्थीलाई भर्ना गरिने र दोस्रो चरणमा पुनः प्रवेश परीक्षा लिइने पनि कलेजले जानकारी दिएको छ ।

प्रकाशित मिति: : 2019-09-02 08:27:59

प्रतिकृया दिनुहोस्