बाराको ग्रामिण क्षेत्रमा विगत केहि समययता चोरीका घटना बढ्न थालेपछि स्थानीय त्रसित भएका छन्।
गत दुई महिनामा गाउँपालिकामा आधा दर्जन बढी घरको पर्खाल मुनी जमिनमा भ्वाङ पारेर चोरीका घटना घटेका छन्।
मधेशतिर बनाइएको अधिकांश फुस अर्थात कच्चि घरमा बासको भित्ता तल माटो झिकेर चोरी हुनुलाई स्थानीय भाषामा सेन काट्नु भनिन्छ। यस्ता चोरीका घटना हरेक वर्ष गाउँपालिकाका निम्न बर्गीय घरमा हुने गरेका छन्।
यद्यपी हालसम्म सेन काट्ने चोरको स्थानीय सरकार लगायत प्रहरीले रोक्न सकेको छैन। यसले गाउँलेहरू चोरको त्रासमा रातभर जाग्राम बस्नुपरिरहेको अवस्था छ ।
गत शुक्रबार राति आदर्श कोतवाल गाउँपालिका- ३ का राम सहाय यादवको घरमा राखिएको गरगहनासहित सोही दिन बैंकबाट ल्याएको २ लाख रूपैयाँ चोरी भयो।
फुसको घरमा बाँसको ‘टाटी’ भित्ता तल खाल्टो खनेर चोरी भएको घटनापछि स्थानीय त्रशित भएका छन्।
गाउँपालिकाको टेढाकट्टी, हरनहिया, जमुनिया बोहा, चिउटाहा र भटनहियालगायतका गाउँमा चोरको बिगबिगी रहेको स्थानीय नुर आलम बादसाहले बताए।
आफ्नो समस्या लिएर गाउले इलाका प्रहरी कार्यालय पुग्दा प्रहरी निरीक्षकले कर्मचारी अभाव देखाउँदै अनुसन्धानमा कठिनाई हुने बताए।
अहिले महेन्द्र आदर्श कोतवाल इलाका प्रहरी कार्यालयमा ७ जना प्रहरी परिचालित रहेको भन्दै प्रहरी निरीक्षकले गाउँपालिकाका हरेक क्षेत्रमा पुग्न असम्भव भएको जानकारी दिएको आलमले बिएल नेपालीसेवासँग भने।
गत शुक्रबार राति गाउँपालिकाको भाङ्गाहामा चोरी भएपछि स्थानीय रातभर जाग्राम बसेका थिए।
चोरहरूले कच्ची घरमै चोरी गरिरहेकाले पक्राउ गर्न समस्या पर्ने गाउँपालिका अध्यक्ष मुस्तफा अन्सारीले भने।
‘शान्ति सुरक्षाको जिम्मा प्रहरीको भए पनि स्थानीयबासीको सहभागीतामा जरूरि छ। हामीले इलाका प्रहरी कार्यालयलाई प्रहरीको गस्ती टोली खटाइ विशेष निगरानी गर्न भनेका छौ,’ उनले भने।
गत वर्ष फागुनमा गाउपालिकाको वडा नम्बर १ टावर जमुनियाका राजेन्द्र मुखिया र वडा नम्बर ८ का ब्रह्म साहको घरमा सेन काटि चोरी भएको थियो।
बारम्बार चोरीको घटना हुदाँ पनि स्थानीय प्रशासनले हालसम्म कुनै पनि चोर समात्न नसकेको गाउँवासीको गुनासो छ ।
अध्यक्ष अन्सारीले विगत केही समय यता चोरहरुले कच्ची घरलाई निसाना बनाएको र यस तर्फ प्रहरीले सतर्कता अपनाउन नसकेको बताए ।
यता इलाका प्रहरी कार्यालय प्रमुख राम निवास साहले विगतमा चोरीका घटना भए पनि हाल कमी भएको दाबी गरेका छन्।
उनले वडा नम्बर ३ मा भएको घटनाको बारेमा अनुसन्धान भइरहेको बताए। उनले अहिले गर्मीको महिना भएकाले गाउँमा रातभर गाँजा, जाड खानेहरुको संलग्नता हुन सक्ने अनुमान गरे।