एटिएमको पिन नम्बर ह्याक गरेर ग्राहकको करोडौं रुपैयाँ लुट्ने ५ जना चिनियाँ नागरिकलाई प्रहरीले सार्वजनिक गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनीहरुलाई सार्वजनिक गरेको हो।
पक्राउ पर्नेहरुमा चिनियाँ नागरिकहरु लिन जियानमेङ, लुओ जियालेइ, झु लियानग्याङ, क्वी युनकिङ र चेन बिन बिन रहेका छन्।
प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर ८०, चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद भएको प्रहरीले जनाएको छ। प्रहरीले उनीहरुबाट नेपालीसहित उक्त विदेशीमुद्राबाहेक नक्कली भिसाकार्ड १ सय ३२ थान, सक्कली भिसाकार्ड १७ थान, कार्ड प्रिन्टर मेसिन, ६ वटा मोबाइल, ल्यापटप, सामसुङ मोबाइल र डाटा कार्ड १/१ थान समेत बरामद गरेको छ।
उनीहरूले शनिवारसम्म १ करोड ३६ लाख रुपैयाँ बैकको एटिएमबाट निकालेको देखिएको छ। परिसरको विषेश टोलीले सूचनाको आधारमा उनीहरुलाई आइतबार बिहान नियन्त्रणमा लिएको थियो।
घटनामा संलग्न अन्यको पनि खोजी भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए।
चीनबाट नै नेपालमा रहेका एटिएम बुथबाट रकम लुट्ने योजनाका साथ उनीहरू नेपाल आएको देखिएको परिसरका प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए। उनीहरु पर्यटन भिसामा शुक्रवार नेपाल प्रवेश गरेका थिए।
आइतबार पत्रकार सम्मेलन गर्दै सुवेदीले चिनियाँ ह्याकरहरूले नविल बैंकको दरबारमार्गमा रहेको एटीएम, हिमालयन बैंकको ठमेलमा रहेको एटीएम र प्रभु बैंकको कमलपोखरीमा रहेको एटीएमबाट पैसा निकालिएको जानकारी दिए ।
उनीहरुले जय नेपाल हलनजिकै रहेको माया मनोर बुटिक होटेल बुक गराएका थिए। होटेलको तीन वटा कोठा बुक गराएर शुक्रवारदेखि त्यहीँ बसेका थिए।
उनीहरु यही भदौ १३ गते मात्रै त्रिभुवन विमानस्थल भएर नेपाल प्रवेश गरेको र भोलि (भदौ १६ ) गते फर्कने योजना रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
एटिएमबाट एकै पटक ठूलो रकम निकालिएपछि बैंकका कर्मचारीले निगरानी गरेको र विदेशी नागरिकको शंकास्पद गतिबिधि देखिएपछि प्रहरीलाई खबर गरिएको थियो ।
प्रहरीले दरबारमार्गस्थित एटिएमबाट रकम निकाल्दै गर्दा सुरुमा एकजनालाई पक्राउ गरेको र त्यसपछि उनको बयानका आधारमा अरु चारजनालाई होटलबाट पक्राउ गरिएको जनाएको छ ।
होटलमा बसेका चारजना प्रहरी देख्नेबित्तिकै भाग्न खोजे पनि पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।