आज देशभर वर्षा भइरहेको छ।
मौसम पूर्वानुमान महाशाखाले मनसुनी न्यून चापीय रेखा औसत स्थानभन्दा दक्षिणतर्फ रहेको र जलवायु युक्त हावा नेपाल प्रवेश गरेकाले मुलुकभर वर्षा भइरहेको जनाएको हो।
महाशाखाका अनुसार पूर्वी तथा मध्य भागमा मेघ गर्जन/चट्टयाङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
देशभरी आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्टयाङसहित वर्षाको सम्भावना रहेकाले पूर्वी र मध्य पहाडी भू-भागमा पहिरोको संभावना र नदीको बहाव बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाको आग्रह छ।
यस्तै बाढी पूर्वानुमान महाशाखाले सिन्धुपाल्चोकको बाह्रबिसे र अधिकांश स्थानमा, चितवनको कालीखोला तथा आसपासमा मध्यमदेखि भारी वर्षा मापन भएको जनाउँदै कोदारी राजमार्ग, चितवनको नारायणगढ मुङलिङ सडकखण्डको कालीखोला र आसपासमा पहिरो जान सक्ने भएकाले यात्रामा सतर्कता अपनाउन आग्रह गरेको छ।
यस्तै इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, रसुवा, गोरखा, लमजुङ, चितवनमा मध्यम वर्षा भएकोले केही साना नदीमा आकस्मिक बहावको सम्भावनाका साथै प्रदेश १, २, ३ र ४ का साना नदीतटिय क्षेत्रमा सतर्क अपनाउन आग्रह गरिएको छ।