तीजको भड्किलो खर्च समाजसेवामा, भोजपुरी समाजका महिलाद्धारा छात्रालाई प्याड वितरण

तस्बिरः बिमला गुप्ता

फजुल खर्चमा तीज मनाउनुभन्दा सामाजिक काम गर्दा बेस

हरितालिका तीज पर्व भड्किलो रूपमा मनाउने प्रचलन बढ्दै गएको अवस्थामा नेपाल भोजपुरी समाजका महिलाले तीज तथा पञ्चमीको अवसरमा स्कुलका विद्यार्थीलाई सेनेटरी प्याड वितरण गरेका छन्।

‍वीरगन्जको विर्तास्थित कन्या माविमा अध्ययनरत ४ सय छात्रालाई सेनेटरी प्याड वितरण गर्नुका साथै भोजपुरी भाषामा उत्कृष्ट कविता वाचन तथा रचनात्मक गीत गाउने ४ जना बालिकालाई पुरस्कृत समेत गरेका छन्।

महिनावारी भएको समय घरको पुरानो कपडा प्रयोग गर्नुभन्दा स्वास्थ्यको दृष्टिकोणले सेनेटरी प्याड सुरक्षीत भएकाले छात्रालाई यस बारेमा सचेत गराइएको थियो।

किशोरीमा हुने महिनावारी प्राकृतिक प्रकृया भएकोले यसलाई छुवाछुत गर्नु  कुरूती भएको वक्ताहरूले बताएका छन्। तीजको अवसरमा पञ्चमी पर्वमा पाप पखाल्न गरिने पूजालाई छुत अछुत भन्दा पनि देवता र ऋषिको पूजा गरी मानाउनुपर्ने भोजपुरी समाजकी सदस्य अनिता साहले बताइन्।

‘पञ्चमीमा महिलाहरू आफू अछुत भएको भन्दै पाप कटाउने मनसायले पर्व मनाउनु गलत भएको र महिनावारीलाई छुत होईन फूल सम्झौं’, छात्रालाई महिनावारीको बारेमा समाजकी सदस्य विभा मेहताले  जानकारी गराइन्।

महिनावारीको समयमा सेनिटरी प्याडको प्रयोग नहुँदा महिलामा पाठेघरको संक्रमणसमेत हुने भएको भन्दै डा.राधिका रानू पाठकले खाजा खर्च कटाएर भए पनि प्याड नै प्रयोग गर्न सुझाव दिइन्।

तीजको नाममा भड्किलो कार्यक्रम गर्नुभन्दा समाजमा राम्रो सन्देश जाने कार्यक्रम गर्नु सराहनीय भएको नेपाल भोजपुरी समाजका सचिव रितु राजले बताए।

प्रकाशित मिति: : 2019-08-29 21:58:31

प्रतिकृया दिनुहोस्