शुक्रबार एकबिहानै अमरेकी भूमिको खबर नेपालभर फैलियो। खबर सुखद थिएन। दुई नेपालीको मृत्यु भएको खबर सञ्चारमाध्यममा फैलियो।
अमेरिकाको भर्जिनिया राज्यको चान्टिलीमा कार दुर्घटनामा रुकुमको आठबिसकोट नगरपालिका-७ का सुरेश केसी र बर्दियाका विवेक सुवेदीको निधन भएको थियो। उक्त दुर्घटनामा चालकसहित थप दुई जना घाइते भएका थिए।
कार कसरी दुर्घटना भयो? अमेरिकी प्रहरी अधिकारीकाअनुसार कार तीव्र गतिमा रहेकाले दुर्घटनामा परेको हो। तीव्र गतिमा रहेको कार सडकछेउको रुखमा ठोक्किएको थियो।
दुर्घटना चालकको लापरबाहीका कारण भएको अमेरिकी समाचार संस्थाहरुले प्रहरीलाई उदृत गर्दै लेखेका छन्। कार चालक विजय तामाङ थिए। उनी घाइते छन्।
तामाङले अत्यधिक मदिरा सेवन गरेर कार हुइक्याउँदा दुर्घटना भएको देखिएको प्रहरी अधिकारीले जनाएका छन्। ३० वर्षीय चालक तामाङलाई प्रहरीले पक्राउ गरेको छ।