दक्ष जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड

काठमाडौँ चन्द्रागिरि नगरपालिका बलम्बुस्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरमा बिहीबारदेखि मोटरसाइकल तथा स्कुुटरको प्रयोगात्मक परीक्षा शुुभारम्भ कार्यक्रमको उद्घाटन गर्दै सांसद कृष्णगोपाल श्रेष्ठलगायत। तस्बिरः रासस

यातायात कार्यालय ठूलो भर्‍याङले अब सवारी चालक अनुमति पत्रको सबै परीक्षा गुर्जुधाराबाट गर्ने

यातायात व्यवस्था विभागअन्तर्गत ठूलो भर्‍याङमा रहेको कार्यालयले अब सवारी चालक अनुमतिपत्रको सबै परीक्षा चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारस्थित भेहिकल एकेडेमी एण्ड रिसर्च सेन्टरबाट सञ्चालन गर्ने भएको छ।

करीब ४० रोपनी क्षेत्रफलमा फैलिएको उक्त स्थलमा चार पाङ्ग्रे तथा हेभी सवारीसाधनको परीक्षा हुँदै आएकामा आजदेखि दुई पाङ्ग्रे सवारीसाधन मोटरसाइकल र स्कुटरको पनि परीक्षा शुरु गरिएको छ।

बिहिबार आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णगोपाल श्रेष्ठले सवारी चालकसम्बन्धी तालीम लिन आउने नागरिकलाई अत्याधुनिक प्रविधिका साथै राम्रो प्रशिक्षण दिएर त्यस क्षेत्रमा दक्षता हासिल भएपछि परीक्षा लिई अनुमतिपत्र उपलब्ध गराउनुपर्नेमा जोड दिए।

उनले सवारी चालकले मानवीय समवेदना, सडकको अवस्था र सवारीसाधनको वास्तविकताको यथार्थ ज्ञान राख्न सकेमा दुघर्टनाको जोखिम कम हुने विचार व्यक्त गरे।

प्रदेशसभा सदस्य रमा आलेले त्यस क्षेत्रमा अन्तर्राष्ट्रिय मापदण्डअनुसारका प्रशिक्षण सञ्चालन गरी सेवाग्राहीलाई गुणस्तरीय सेवा उपलब्ध गराउन आग्रह गरे।

चन्द्रागिरि नगरपालिका प्रमुख घनश्याम गिरीले काठमाडौँ उपत्यका बाहिरबाट देशको केन्द्रमा आउने प्रमुख सडक मार्ग रहेको त्यस क्षेत्रमा सडक जीर्ण रहेका कारण समस्या भइरहेको जानकारी गराए।

यातायात व्यवस्था विभागका महानिर्देशक गगन हमालले सेन्टरलाई प्रभावकारी सेवा सञ्चालन गर्न आग्रह गर्दै सरकारले आवश्यकताअनुसार यातायात तथा त्यससम्बन्धी कार्यक्रम त्यहाँबाट समन्वय गरी सञ्चालन गर्न सक्ने बताए।

सेन्टरका सञ्चालक देवेन्द्र प्रधानले देशको मागअनुसारको दक्ष जनशक्ति उत्पादन गरी त्यस क्षेत्रलाई मर्यादित बनाउन सकिने बताउँदै स्थानीय तहका विकास तथा पूर्वाधार निर्माणमा संस्था क्रियाशील रहने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति: : 2019-08-29 19:33:03

प्रतिकृया दिनुहोस्