भक्तपुर जिल्लाको विभिन्न पाँच टोलमा रहेका दिपँकर बुद्धहरुलाई पुजा तथा दान दिएर पञ्जरां अर्थात पञ्चदान पर्व मनाइएको छ।
भक्तपुरमा पाँच जना दिपँकर बुद्धहरुलाई बिहारबाट निकाली टोल टोलमा घुमाई पुजा तथा दान लिने गरिन्छ। बौद्धधर्ममा यो पर्व बुद्ध बोधिसत्वहरुको पूजा गर्ने र बुद्धधर्ममा दीक्षित भएका संघ सदस्यहरुलाई दान प्रदान गर्ने पर्वसंग सम्बन्धित छ। यी दिनहरुमा विशेष गरेर दीपंकर बुद्धलाई पूजा गर्ने र यहाँको परम्परागत विहारहरुमा भिक्षु भईसकेका शाक्य वज्राचार्यहरुलाई स–सम्मानका साथ स्वागत सत्कार गरी दान आदान प्रदान गरिन्छ।
काठमाण्डौं उपत्यकामा मनाईने विभिन्न बौद्ध संस्कृति एवं पर्वहरुमा दान गरिन्छ। स्मरणीय छ दीपंकर बुद्ध भन्नाले शाक्यमुनी बुद्धलाई बुद्ध हुन्छ भनेर भविष्यवाणी गर्ने बुद्ध थियो। यो पर्व हजारौं वर्ष पहिले देखि नै श्रावण महिनाभित्र दुई पटक धूमधामका साथ मनाईदै आएका छन्। गुँला महिना ( श्रावण महिना ) मा पहिलो पटक श्रावणशुक्ल अष्टमीको दिन पाटनमा मनाईन्छ भने दोश्रो पटक भाद्र कृष्ण त्रयोदशी काठमाण्डौं, भक्तपुर, बनेपा, ठिमी, पनौती, कीर्तिपुर आदि ठाउँहरुमा मनाईन्छ।
नेपालमा यो पञ्जरां (पञ्चदान) पर्वको इतिहास र परम्परालाई हेर्दा यो नेपालको आफ्नै मौलिक संस्कृति र परम्परा रहेको देखिन्छ।