महर्षि वेदव्यासको १०८ फिटको मूर्ति उभिएको आकारमा बनाउन उपयुक्त रहेको सुझाव दिइएको छ। वेदव्यासको मूर्तिको आकार कस्तो बनाउने भन्ने विषयमा विवाद भइरहेको अवस्थामा व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष तनहुँले आयोजना गरेको विद्वत परामर्श सभाका वक्ताले धार्मिकशास्त्रअनुसार उभिएको आकारमा वेदव्यासको मूर्ति बनाउन उपयुक्त हुने सुझाव दिएका हुन्।
विद्वत परामर्श सभामा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति एवं वरिष्ठ संस्कृतिविद् डा जगमान गुरुङले व्यासको मूर्ति निर्माणमा ढिलाइ भइसकेको भन्दै मूर्ति निर्माणमा बखेडा झिक्न नहुने बताए। कोषले बनाएको नमूना मूर्तिमा हात उठाएको रहेको चर्चा गर्दै गुरुङले त्यसले उठ, जाग भन्ने सन्देश दिएकाले १०८ फिटको मूर्ति पनि सोही आकारकै हुनुपर्नेमा जोड दिए।
त्रिभुवन विश्वविद्यालय संस्कृत केन्द्रीय विभाग प्रमुख प्रा डा नारायण गौतमले ज्ञान र विचार प्रवाह गर्ने शक्ति दिने व्यास रहेको उल्लेख गर्दै व्यासको मूर्ति हात उठाएकै आकारमा निर्माण गर्न उपयुक्त हुने बताए। बाल्मिकी क्याम्पस धर्मशास्त्र विभाग प्रमुख प्रा डा वेदनिधि भट्टराईले व्यासको मूर्तिले हातको उठानले अग्रगामी र चिन्तनशील हुन प्रेरणा दिने बताए।
व्यासाचार्य किशोर गौतमले हातको आकार ठूलो कुरा नभई आस्था महत्वपूर्ण भएकाले मूर्तिको आकारको विषयमा धेरै विवाद गर्न आवश्यक नरहेको बताए। व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले दिक्क भएका बेलाको मूर्तिको आकार बनाउनुभन्दा वास्तविक सन्देश दिने खालको मूर्ति निर्माण गर्न आवश्यक रहेको बताए। व्यासमूर्तिको आकारको विषयमा सहमति नभए स्रोत जुटाउन कठिन हुने भएकाले मूर्तिको आधारमा सहमति आवश्यक रहेको उनको भनाइ थियो। मूर्ति निर्माणका लागि नगरपालिकाले चालू आर्थिक वर्षमा रु ५० लाख विनियोजन गरेको उनले जानकारी गराए।
व्यासका अध्येता काशीनाथ न्यौपानेले विदेशमा पनि ठूला–ठूला मूर्ति उभिएको अवस्थामा रहेकाले व्यासको मूर्ति पनि उभिएको आकृतिमा बनाउन सके राम्रो हुने बताए। व्यास क्षेत्र शिवपाञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले मूर्तिको आकारको विषयमा विवाद भएपछि विद्वतहरुको परामर्श लिन आवश्यक देखिएपछि विद्वतसभा आयोजना गरिएको जानकारी दिए।
व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो। मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करीब रु ७० लाख सङ्कलन भएको थियो। उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ। बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको कोषका महासचिव विष्णुभक्त सिग्देलले बताए।
सबै संरचना निर्माणका लागि रु ६८ करोड आवश्यक
व्यासमूर्तिसहित सबै संरचना निर्माणका रु ६२ करोड ८५ लाख पाँच हजार २११ बजेट लाग्ने अनुमान गरिएको छ। अर्थक्वेक सेफ्टी सोलुसन्सले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरेको छ। विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान रहेको सोलुसन्सका प्रमुख कार्यकारी अधिकृत देवकुमार महर्जनले जानकारी दिए।