वर्षौदेखि खानेपानीको अभाव रहेको भेरी नगरपालिका–१३ कुदुमा खानेपानीको समस्या समाधान भएको छ। डिपबोरिङबाट १५२ मिटर तल जमीनबाट भूमिगत पानी निकालेपछि यहाँका करीब ४६५ घरधुरीले खानेपानीको समस्याबाट मुक्ति पाएका हुन्।
नगरपालिकाको रु ४५ लाख रकम खर्च गरेर जमीनमुनिबाट पानी निकालिएको नगरप्रमुख चन्द्रप्रकाश घर्तीले बताए। विद्युतबाट पानी निकाल्ने काम हुने अपरेटर राजेश बिसीले बताए। पच्चीस मिनेटमा दुई हजार लिटरभन्दा बढी पानी निकाल्न सकिने उनले जानकारी दिए। डिपबोरिङबाट निकालिएको पानी प्रयोग गरेवापत प्रतिघरधुरी रु १०० तिर्नुपर्ने नगरपालिकाले जनाएको छ।
एक महीनामा पानी निकाल्न कम्तीमा १०० युनिट विद्युत् खपत हुने गर्दछ। स्थानीयवासीको आवश्यकताका आधारमा पानी निकाल्ने काम हुने गरेको बिसीले बताए। वर्षौदेखि वडा नं १३ स्थित कुदुवासी खानेपानीका लागि एक घण्टा टाढा हिँडेर भेरी नदीको फोहर पानी पिउन बाध्य थिए। वर्षौँपछि घर नजिकै मनग्य पानी प्रयोग गर्न पाएपछि स्थानीयवासी खुशी भएका नरबहादुर वस्नेतले बताए।
पटक–पटकको प्रयासपछि मात्र यो कार्य सफल भएको उनको भनाइ छ। अहिले शुद्ध पानी नभएकाले केही समयपछि पानी शुद्धीकरण गरी अन्य धारा थपिने नगरपालिकाले जनाएको छ। जिल्लाको सबैभन्दा ठूलो खेतीयोग्य फाँट भए पनि सिँचाइको अभावमा बाँझै रहँदै आएको थियो। अब यो पानी प्रयोग गरी सिँचाइ गर्न सके कुदुवासीका लागि लाभदायिक हुने स्थानीय रेनुका आचार्यले बताए।