पत्रकार शालिकराम पुडाशैनी आत्महत्याको प्रकरणमा पक्राउ परि ५ लाख धरौटीमा छुटेका कार्यक्रम प्रस्तोता रवि लामिछाने र युवराज कँडेललाई अब देश बाहिर जाँदा अदालतको अनुमति लिनुपर्ने भएको छ।
जिल्ला अदालत चितवनका न्यायधीश हेमन्त रावलको इजलासले लामिछाने र कँडेललाई विदेश जान अदालतको अनुमति लिनुका साथै पुडाशैनी आत्महत्या प्रकरणसम्बन्धी कुनै पनि विषयमा कार्यक्रम प्रशारण प्रकाशन गर्न नमिल्ने आदेशमा उल्लेख रहेको अदालत स्रोतले जानकारी दियो।
‘रवि र युवराज देश बाहिर जानुपरेमा कारण खुलाएर जिल्ला अदालत चितवनको अनुमति लिनुपर्ने र पुडाशैनी आत्महत्या सम्बन्धी विषयमा कुनै पनि कार्यक्रम प्रशारण गर्न नपाउने भन्ने आदेशमा छ।
पुडाशैनीको आत्महत्याका बारेमा उनीहरूले कुनै पनि कार्यक्रम फेसबुक लाइभ तथा स्टाटस समेत लेख्न नपाउने अदालतको आदेशमा उल्लेख छ।
मुद्दाको अनुसन्धान गरेका प्रहरी, अभियोजन गरेका सरकारी वकिल र न्यायाधीशबारे पनि उनीहरूले टिभी कार्यक्रम फेसबुक लाइभलगायतका प्रकाशन/प्रशारण गर्न नपाउने पनि आदेशमा भनिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालय चितवनले आइतबार जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।
रवि लामिछानेसहितका तीनै जना पक्राउ परेको १२ दिनपछि रिहा हुन लागेका हुन्।
जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले पुडाशैनीको आत्महत्या दुरूत्साहन मुद्दा लागेका लामिछानेलाई ५ लाख धरौटी, युवराज कँडेललाई ३ लाख र अस्मिता कार्की ‘रूकु’लाई सामान्य तारेखमा छोडेको हो।