पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरूत्साहन अभियोगमा पक्राउ परेका सञ्चारकर्मी रवि लामिछानेसहित तीनजना विरुद्ध आइतबार चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर भएको छ।
चितवन प्रहरी र केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)को टोलीले अनुसन्धान पुरा गरेपछि सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र रूकु भनिने अस्मिता कार्कीविरुद्ध सरकारी वकिलको कार्यालयले चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको हो।
जिल्ला न्यायधिवक्ता यदु शर्माका अनुसार प्रहरीको अनुसन्धानबाट प्राप्त सम्पूर्ण विवरण अध्ययन पश्चात चितवन जिल्ला अदालतमा अभियोगपत्र दायर गरिएको हो।
उनले जिल्ला अदालतमा आजै सबै प्रक्रिया टुंङग्याउन सम्भव नरहेको बताए। ‘प्रक्रिया लामो नै छ, बयान पछि थुनछेक बहस हुन्छ, आज मुद्दा टुङिग्ने संभावना कम छ।’
यदि आज मुद्दाको फैसला नभए तीन जना नै पुनः प्रहरी हिरासतमा रहनेछन्। आत्महत्या दुरुत्साहन मुद्दामा दोषी ठहरिए पाँच वर्ष कैद र ५० हजार जरिवाना सजाय हुनेछ।
बहस आइतबार नै सकिए थुनछेकको आदेश बेलुकासम्ममा आउने छ। यसमा कति जना वकिलले बहस गर्नेछन् भन्नेले पनि आइतबार नै आदेश आउने -नआउने भरपर्ने छ।
थुनछेकको आदेशले पुर्पक्षका लागि थुनामा राख्ने वा साधारण तारेखमा छाड्ने वा धरौटीमा छाड्ने मध्ये एउटा आदेश गर्ने छ।
यसअघि आज विहान चितवन प्रहरीले पत्रकार सम्मेलन गरी हिरासतमा रहेका तीनजना विरुद्ध आत्महत्या दुरूत्साहन मुद्दामा अनुसन्धान पुरा गरेको जनाएको थियो।
अनुसन्धानको नेतृत्व गरेका सिआइबीका प्रहरी उपरीक्षक दीपक रेग्मीले आत्महत्या दुरुत्साहन अभियोग अन्तर्गत रहेर नै अनुसन्धान पुरा गरिएकोले सोही अनुसार अभियोग दर्ताका लागि सरकारी वकिल कार्यालयलाई फाइल पठाइएको जानकारी दिए।
पत्रकार सालिकराम पुडासैनी आत्महत्या प्रकरणमा प्रहरीले लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई पक्राउ गरेको थियो।
सालिकरामले आत्महत्या अघि रेकर्ड गरेको भनिएको भिडियोमा लामिछाने, कँडेल र कार्कीका कारण मर्न बाध्य भएको उल्लेख गरेका थिए।