झण्डै चार दशक अघि गएको पहिरो सम्झदा ९२ वर्षिय धनराज गुरुङको मन अझै पनि चसक्क हुन्छ। वि.सं २०३३ जेठ २२ गते कास्कीको भगवतीटार (माझठाना) मा बिहान ६ बजेतिर गएको पहिरोपछि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा नपाउँदा उनलाई उक्त घट्नाले अझै पिरोलीरहेको छ।
तत्कालीन समयमा सरकारले भगवतीटार (माझठाना) का बाढीपीडितमध्येका २३२ परिवारलाई कास्कीकै साबिक छिनेडाँडा गाउँ पञ्चायतको वडा नं २, ४ र ९ मा पुनर्वास गराएको थियो। वडा नं २ र ४ अहिलेको पोखरा महानगरपालिका–१४ मा पर्दछन्। वडा नं ९ महानगरको १५ नं वडामा पर्दछ।
पुनर्वास गराइएकामध्ये केही समयपछि ७२ परिवारलाई कैलाली लगिएको र तीमध्ये १९ परिवार पुनः यही ठाउँमा आएको गुरुङले जानकारी दिए। ‘पहिरोका कारण आफ्नो थातथलो छोडेर हिँड्नु परेको पीडा त छँदैछ, सरकारले तत्कालीन अवस्थामा पुनर्वास गराए पनि भोगचलन गर्दै आएको जमीनको लालपुर्जा अहिलेसम्म पनि पाउन सकेका छैनौँ’, दुःखेसो व्यक्त गर्दै गुरुङले भने।
तत्कालीन समयमा मन्त्रिपरिषद्बाटै निर्णय गरी सरकारले पुनर्वास गराउँदा प्रति घरधुरी घरवासका लागि १२ आना र खेतीबालीका लागि सात रोपनी चार आना गरी आठ रोपनी जग्गा उपलब्ध गराएको उहाँले जानकारी दिनुभयो। त्यसपछि केही व्यक्तिले जेनतेन लालपुर्जा लिए पनि अझै आफूजस्ता ३० घरपरिवार लालपुर्जाकै खोजीमा भौँतारिनुपरेको उनले गुनासो पोखे।
चार नाति र एक नातिनीका हजुरबुबा गुरूङ यतिखेर परिवारका सदस्य र अन्य आफूजस्तै पीडितले सरकारबाट उपलब्ध गराइएको जग्गाको पूर्जा पाएको हेर्ने इच्छा रहेको बताउँछन्।
गुरूङका अनुसार सरकारले तत्कालीन समयमा घरवास निर्माणका लागि प्रतिपरिवार एक/एक हजार उपलब्ध गराएको थियो। त्यस समयमा एक हजार रुपैयाँले यही ठाउँमा पुर्जासहितको झण्डै १५ रोपनीसम्म जग्गा किन्न पनि पाइन्थ्यो।
भोगचलन गर्न पाए पनि पुर्जा नभएकै कारण केही काम गरौँ भने पनि बैंकबाट ऋण निकाल्न नसकिनु जस्ता धेरै समस्याले आफूहरुलाई पिरोलेको अर्का पीडित क्षेत्रबहादुर गुरुङले बताए।
पहिरो जाँदाकै भोलिपल्ट जन्मिएका क्षेत्रबहादुर अहिले ४३ वर्ष पुगे। सरकारले भोगचलन गर्न दिएकै जग्गामा हुर्के बढेका उहाँ आफू जान्ने बुझ्ने भएदेखि लालपुर्जाकै खोजीमा भौँतारिँदै आएका छन्।
आफू जन्मेसँगै हजुरबुबा रामजीत, बुबा गिरिराजसहितको परिवार त्यसबेलादेखि नै सरकारले उपलब्ध गराएको जग्गामा बस्दै आएको उनले बताए। ‘लालपुर्जा पाउन हजुरबुबा, बुबा हुँदै गर्दै आएको सङ्घर्षमा यतिखेर आफू तेस्रो पुस्ताको व्यक्ति लागिरहेको छु’, उनले भने, ‘यस बीचमा धेरै चुनाव पनि भए, भोट माग्न आउँदा लालपुर्जा उपलब्ध गराइदिन्छौँ, समस्या समाधान गर्छौं भन्छन्, जितेपछि फेरि बेवास्ता।’
पञ्चायती शासन व्यवस्थादेखि बहुदलीय प्रजातन्त्र हुँदै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थासम्म आइपुग्दा पनि आफूहरूको समस्या ज्यूँको त्यूँ रहेको पीडितको गुनासो छ।
लालपुर्जाकै अभावमा आफूहरू विकल्पविहीन बनेको अर्की पीडित सकुन्तला गुरुङले बताए। कास्कीमा २०३३ साल जेठ २२ गते भगवतीटार (माझठाना) मा गएको पहिरोलाई जिल्लाकै ठूलो प्राकृतिक विपत्तिका रुपमा लिइन्छ। उक्त पहिरोका कारण कैयौँ घरपरिवार विस्थापित बन्नाका साथै भगवतीटार खड्खडे बजारमा ९६ जनाको मृत्यु भएको गुरुङले जानकारी दिए। खड्खडे बजार तत्कालीन समयमा तनहुँ, लमजुङ लगायतका स्थान जाने मुख्य नाका थियो।