प्रहरीको निगरानीमा सामाजिक सञ्जाल र यूट्यूव, रविका थप ९ सर्मथक पक्राउ

तस्बिरः बिएल

पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा अनुन्धानका लागि नियन्त्रणमा लिइएका कार्यक्रम प्रस्तोता रवि लामिछानेका सर्मथकले सामाजिक संजालको दुरूपयोग गर्दै राज्यको ओहदामा बसेका ब्यक्तिलाई गाली गलौज तथा गलत भ्रम फैलाउन थालेपछि प्रहरीले त्यस्ता ब्यक्तिको निगरानी गर्न थालेको छ।

मंगलबार मात्र सामाजिक सञ्जालमा देशका भीआईपी व्यक्तिलाई खुकुरी देखाउँदै ज्यानमार्ने धम्की दिने सागर मैनालीलाई प्रहरीले पक्राउ गर्‍यो।

बाराका २५ वर्षीय सागर मैनालीले सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाउँदै प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचन्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबालगायतलाई काट्ने धम्की दिएका थिए।

पक्राउ परेका मैनालीविरुद्ध प्रहरीले विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारबाही थालेको छ। 

मैनालीले पत्रकार शालिकराम पुडाशैनी आत्महत्या प्रकरणमा पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेको सर्मथन गर्दै हतियार देखाउँदै गालीगलौजमा उत्रिएका थिए।

मैनाली जस्तै सामाजिक सञ्जालमा जथाभावी लेख्ने एक दर्जन भन्दा बढीलाई प्रहरीले निगरानीमा राखेको छ।

प्रहरी स्रोतका अनुसार सामाजिक सञ्जाल र युट्यूवमा जथाभावी भिडीयो बनाएर पोष्ट गर्नेकोसमेत निगरानी थालिएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरीको साइबर ब्यूरो, महानगरीय अपराध महाशाखा, काठमाडौं प्रहरीलगायत प्रहरी युनिटलाई त्यस्ता खालका हर्कद देखाउनेलाई नियन्त्रण लिएर आवश्यक कारबाही गर्न निर्देशन दिइएको छ।

रविका ९ सर्मथक पक्राउ

रवि लामिछाने पक्राउको बिरोध गर्दै अनुन्धानलाई प्रभावित पार्न खोज्ने थप ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ७ जना पुरूष र २ जना महिला रहेको प्रहरीले जनाएको छ। यसअघि २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रहरीले उनीहरुलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ।

‘पछिल्लो समयमा सामाजिक सञ्जालको केही दुरूपयोग भएको देखियो’, काठमाडौं प्रहरी प्रमुख एसएपी उत्तम सुवेदीले बिएल नेपाली सेवासँग भने, ‘सामाजिक सञ्जालमा तथानाम गाली गर्नेलाई कानुनी दायरामा ल्याउदै छौ।’

प्रकाशित मिति: : 2019-08-21 18:33:45

प्रतिकृया दिनुहोस्