पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणको छानविन गर्न उनका परिवारले टेलिभिजन प्रस्तोता रवि लामिछानेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएका छन्।
चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार पुडासैनीका श्रीमती सम्झना पुडासैनीले महानगरीय प्रहरी परिसर काठमाडौंमार्फत आइतबार किटानी जाहेरी दिएकी हुन्।
सम्झना आफैँले सञ्चारकर्मी लामिछानेसहित अन्य आरोपी युवराज कँडेल र अस्मिता कार्कीविरुद्ध किटानी दिएकी उनले बताए। मल्लका अनुसार जाहेरी काठमाडौंमार्फत चितवन आउने छ।
पुडासैनीले मृत्यु हुनुभन्दा अघि रेकर्ड गरेको भनिएको भिडियो सामाग्रीमा आरोप लगाएपछि रविसहित ३ जनालाई प्रहरीले हिरासतमा लिएर अनुसन्धान अगाडि बढाइरहेको छ।
जिल्ला अदालत चितवनबाट म्याद थप गरेर उनीहरूमाथि अनुसन्धान गरिरहेको मल्लले जानकारी दिए।
साउन २० गत्ते चितवनको भरतपुर महानगरपालिका १ नारायणगढस्थित पोखरा बसपार्कस्थित होटल कंगारूमा पुडासैनी झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।