गोर्खा मुद्दा–३:
बुद्धिराज राई, बेलायतको सेभेन जिआरका पूर्व गोर्खा सैनिक। जसले गोर्खा सेनामा भर्ती भएको २ वर्षभित्र बेलायतका लागि दुई वटा युद्व लडे। पहिलो युद्व–दक्षिण अमेरिकाको सानो देश बेलिजलाई ग्वाटेमालाबाट स्वतन्त्र राख्न। र, दोस्रो– चर्चित फकल्याण्ड युद्व। जुन युद्व गोर्खाली सेनाका कारण बेलायतले गुमाइसकेको माल्भिनास टापुलाई अर्जेन्टिनाको कब्जाबाट पुनः आफ्नो अधिनमा राख्न सफल भयो।
हाल नेपालमा अवकाशको जीवन बिताइरहेका छन्। बेलायती सेनामा कार्यरत रहँदा बेलायतले लडेको सबै युद्वमा उनी अघिल्लो मोर्चामा थिए। उनीमात्र होइन, उनी जस्ता लाखौं गोर्खालीले बेलायतलाई ‘कहिल्यै नअस्ताउने देश’ को रुपमा विश्वसामू स्थापित गराउन ज्यानको आहुती दिए।
तर, अवकाशको जीवनमा आफू ठगिएको महसुस गरिरहेका छन्। बेलायत सरकारले युद्वको समयमा उनीहरूसँग गरेको वाचा अहिलेसम्म पुरा गरेको छैन।
बुद्धिराज सन् १९८० मा गोर्खा सेनामा भर्ती भए। उनी बेलायती सेनामा भर्ती हुने घरका पहिलो र एकमात्र सदस्य थिएनन्। उनका हजुरबुवा नवावसिंह राई पहिलो विश्व युद्वमा बेलायतका लागि लडेका थिए। बुवा अगमबहादुर राईले दोस्रो विश्व युद्व लडे। उनी आफैं फकल्याण्ड युद्वमा बेलायती सेनाको अघिल्लो मोर्चामा खटिए।
लामो समय बेलायतको अधिनमा रहेको बेलिजलाई सन् १९८१ मा स्वतन्त्र राष्ट्रको हैसियत दिन ग्वाटेमालाले अस्विकार गर्यो। युद्वको स्थितिलाई नियन्त्रणमा राख्न बेलायतले १५ हजार सेना पठाउने निर्णय गर्यो। जसमा बुद्धिराज समावेश सेभेन जिआर पनि संलग्न थियो।
बेलिजमा सेभेन जिआरको हेडक्वाटर नै बेलिजको घना जंगल ‘सालामाङ्का’ मा थियो। बुद्धिराजलगायत गोर्खाली सेना ग्वाटेमालाको सम्भावित आक्रमण रोक्न दिन–रात केही नभनी जंगलमा गस्ती गर्थे। उनीहरूसँग गस्ती गर्ने दिन अनकन्टार र डरलाग्दो जंगलको भूगोल देखेर गोरा अफिसरहरू परिवार सम्झदैं ग्वाँग्वाँ रुन्थे। यति बेला उनीहरूको उद्दार गोर्खाली सेनाले नै गर्नुपथ्र्यो।
बेलिजकै जंगलभित्र रहेको क्याम्पमा राती थकाईं बिसाउँदा बेलायतको चर्चित टेलिभिजन बिबिसीबाट एउटा समाचार प्रसारण भयो–‘बेलायतको अधिनमा रहेको फकल्याण्ड टापु आफ्नो भएको दावी गर्दै अर्जेन्टिनाले कब्जा गर्यो।’
त्यसको केही दिनभित्रै उनीआवद्ध गोर्खा रेजिमेन्टलाई सूचना आयो– बेलिजको स्थिति नियन्त्रणमा छ। अब युद्व लड्न फकल्यान्ड जानुपर्छ, पूर्ण तयारीका साथ बस्नु।
बेलिजमै रहँदा बुद्धिराजलगायत गोर्खाली सेनाले फकल्यान्डको भूगोलको विषयमा अध्ययन सुरु गरिसकेका थिए। उनीहरू सन् १९८२ को मे महिनामा बेलायत फर्किएका थिए।
बेलायत फर्किएको ३ दिनभित्र आफ्नो रासन, लत्ता कपडा, हतियार बुझेर १२ तारिखको एकाबिहान युद्व क्षेत्रमा खटिन साउथहाम्पटनको ठूलो पोर्टतर्फ लागिसकेका थिए।
फकल्याण्ड युद्वको त्यो शान्दार बिदाईलाई अहिले पनि बुद्धिराजले बिर्सिएका छैनन्। भन्छन्, ‘ओहो! हामी गोर्खालीलाई फकाउन ठूलो पम्प्लेट बोकेर गोराहरू बसेका थिए। गुड बाई गोर्खा। बेष्ट अफ लक गोर्खा। फकल्यान्ड इज आवर। भनेर चिच्याउँदै हामीलाई उत्तेजित पारेका थिए।’
फकल्याण्ड युद्वमा सेनाहरूलाई छोड्न बेलायत सरकारले विश्वकै महंगो पानी जहाज ‘महारानी एलिजाबेथ द्धितिय’ लाई तैनाथ गरेको थियो। यो पानी जहाज यति ठूलो थियो कि यहीँ भित्र युद्व अभ्यास गर्न सकिन्थ्यो। संसारभरीको खाने कुरा पाइन्थ्यो। जहाजभित्रै मान्छे हराउने।
त्यति बेला नेपालीहरूलाई पैसाको महत्व नै थाहा थिएन। बेलायतबाट हिडेको जहाज एक सातापछि अफ्रिकी महादेशको सेरा लियोनमा २४ घण्टा रोकिएको थियो। गोर्खाली सेनाहरूले स्थानीय कालाजातिका मानिसहरूको बिजोग देखेर आफूसँग भएको खानेकुरा र पैसा दिएका थिए।
१० दिन लामो यात्रापछि जहाज एसएनसियोन पुगेको थियो। जुन ठाउँ बेलायती सेनाको टार्कफोर्स बेस थियो। यहीबाट गोर्खाली सेना साउथ जर्जियातर्फ लाग्यो।
त्यति बेला गोर्खाली सेनालाई अर्जेन्टिनी सेनाको मुख्यालय उडाएर फकल्याण्ड टापु कब्जा गर्ने लक्ष्य सुम्पिएको थियो। यसबापत गोर्खाली सेनालाई पाँच पाउन्ड भत्ता दिने घोषणा भएको थियो।
अर्जेन्टिनाले सम्पूर्ण तयारीका साथ फकल्याण्डलाई आफ्नो कब्जामा लिएको थियो। गोर्खाली सेना जानुअघि बेलायतको अन्य सेनाले उनीहरूलाई भगाउन प्रयास नगरेको होइन। तर, नसकेपछि गोर्खाली सेना प्रयोगमा ल्याइएको रहेछ।
‘हामी फकल्याण्ड टापु पुग्नुअघि नै हाम्रो विषयमा प्रचार गरिएको रहेछ। गोर्खाली सेना खुन पीपासु हुन्। मान्छेको मासु खान्छन्। १ सय मिटर राउन्डमा खुकुरीले मान्छे चटचट काट्ने क्षमता राख्छन्,’ ३७ वर्ष अगाडिको कुरा सम्झँदा अझैं उत्साही हुने बुद्धिराज भन्छन्–‘वास्तवमा गोर्खाली सेना ६ सय ५१ जना खटिएका थियौं। तर, बेलायतले ६ हजार गोर्खाली आउँदै छ भनेर उनीहरूलाई डराएका थिए।’
बुद्धिराजले युद्व मैदानमै हुँदा गोरा र गोर्खाली सेनाबीच हुने विभेद अनुभव गरेका थिए।
‘एसएनसियोनको बेस क्याम्पमा युद्वमा हिडेका हामीहरूलाई महारानी एलिजाबेथ द्धितिय पानी जहाजले छोडेपछि दुई वटा अलि सानो पानी जहाजको व्यवस्था गरिएको थियो। एउटा पानी जहाजमा गोराहरूको सैनिक बसे। अर्कोमा हामी गोर्खाली सेनाहरू। गोराहरू बसेको पानी जहाजको नाम क्यानबेरा थियो। त्यो निकै सुविधासम्पन्न र स्तरीय थियो। तर, हामीलाई चढाईको नोरल्याण्ड पानी जहाज सानो र गोलो। पुरानो र स्तरहीन थियो,’ उनले बीएल नेपाली सेवासँग पुरानो घटना सम्झिँए।
पानी जहाजको लामो यात्रामा गोर्खाली सेनालाई पट्टयार लागिसकेको थियो। उनीहरूलाई जमिन टेकेको खण्डमा मात्र सबै सिध्याउँछु भन्ने मनोबल आइसकेको थियो। गोर्खाली सेनाले फकल्याण्डको भूमि टेकिसकेको खबरले अर्जेन्टिनी सेनामा त्रास उत्तिकै बढेको थियो।
‘हामी १८ घण्टा नसुति लड्थ्यौं। अर्जेन्टिनी सेनाले जरा गाडिँसकेको रहेछ। जतात्यतै उनीहरू। युद्व लड्दा लड्दै हाम्रो रासन नै सकिसकेको थियो। कति ठाउँमा त उनीहरूको मारिएको सेनाको टुम्लेटमा भएको पानी पिएर लड्यौं,’ बुद्धिराज भन्छन्।
गोर्खाली सेनाको काम थियो, स्ट्यान्ली फोर्डमा रहेको अर्जेन्टिनी सेनाको मुख्यालय कब्जा गर्ने। अर्जेन्टिनी सेनाले गोरा चढेको पानी जहाज नै डुबाइदिए। जसमा ५२ जनाको निधन भयो।
स्ट्यान्ली नजिकै अर्जेन्टिनी सेनासँग गोर्खाली सेनाको दोहोरो भिडन्त भएको थियो। त्यति बेला गोर्खाली सेनाले बोकेको हतियारभन्दा शक्तिशाली थियो, अर्जेन्टिनी सेनाको। नेपाली सेनाले १ सय ५ क्यालिबरको हतियार बोकेको थियो। अर्जेन्टिनाको १ सय ५५ क्यालिबरको हतियार थियो। मार हान्दा गोर्खाली सेना भएतर्फ २ वटा भैसी गाड्ने खाल्डो पर्ने।
युद्वकै क्रममा बुद्धिराजलाई पनि बमको छिर्का लागेको थियो। उनी अझैं त्यो घटना सम्झँदा उत्साही हुँदै भन्छन्, ‘दिन नपुगेपछि नमरिने रहेछ। बमको छिर्का लाग्दा पनि मरिएन।’
गोर्खाली सेनालाई रोक्न स्ट्यान्ली फोर्डको नजिकै अर्जेन्टिनी सेनाले आक्रमणको गतिलाई तेज पारेका थिए। तर, गोर्खाली सेनाले आफ्नो सुझबुझ र रणकौशल देखाउँदै स्ट्यान्ली फोर्डको पहाड पहिले कब्जा गरे। यसपछि आगोको गोला जस्तै ठूलो र सानो हतियारले गोलीको बौछार गरेका गोर्खाली सेनाको अगाडि लामो समय अर्जेन्टिनी सेना टिक्न सकेनन्। र, उनीहरूले सेतो झन्डा फहराउँदै युद्व हारेको घोषणा गरेका थिए।
गोर्खाली सेनाका कारण बेलायतले ३ महिना २७ दिनमा फकल्यान्डलाई पुनः आफ्नो अधिनमा ल्यायो। युद्व जितेर गोर्खाली सेना बेलायत फर्किदा उनीहरूलाई आधा बाटोदेखि नै भब्य स्वागत गरिएको थियो। बेलायती नागरिकले बाजागाजासहित गोर्खाली सेनाको सम्मान गरेका थिए।
तर, फकल्यान्ड युद्व समाप्त भएको केही दिनपछि नै गोर्खा सैनिकमाथि तल्लो स्तरको व्यवहार भयो। ५ पाउन्ड भत्ता दिने भनिएको गोर्खाली सेनालाई १ पाण्ड दिएर बेलायत सरकारले आफ्नो अनुहार उदाङ्गो पार्यो।
बुद्धिराजको तीन वटा पुस्ताले बेलायत सरकारलाई खुन, पसिना र आफ्नो जवानी दियो। तर, बेलायत सरकारले उनीजस्ता लाखौं गोर्खालीमाथि विभेद मात्र गरेको छ। यही विभेदविरूद्ध विगत तीन दशकदेखि बुद्धिराज गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) को आन्दोलनमा होमिएका छन्। ५७ वर्षको उमेरमा मुटुमा पेसमेकर लगाएर काठमाडौंमा जीविकोपार्जन गरिरहेका पूर्वी खोटाङ, इन्द्रेणी पोखरीका स्थायीवासी बुद्धिराज भन्छन्, ‘मेरो बाजे र मेरो बुवाले पनि बेलायतका लागि युद्व लड्नु भयो। मैले पनि लडे। आखिर हामीले के पायौं? बाँच्ने सम्भावना एकदमै कम भएको ठाउँमा पनि ज्यानको आहुति दिएर हामीले युद्व जिताएका छौं। तर, सेवा र सुविधा दिने बेला हामीलाई मार्नु भनेको अन्याय हो।’
उनी विश्वलाई नियम कानुन र मानवअधिकारको पाढ सिकाउने बेलायत गोर्खा सैनिकको मुद्धामा उदाङ्गो भएको बताउँछन्। र, उनी विगतको गल्ती सच्चाउँन बेलायत सरकारसँग माग गर्छन्।