टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई शुक्रबार जिल्ला अदालत चितवनमा पेश गरिने भएको छ । अनुसन्धानका लागि केही दिन हिरासतमा राख्ने माग राखेर प्रहरीले उनलाई जिल्ला अदालत चितवनमा पेश गर्न लागेको हो । रविमाथि पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या गर्न बाध्य पारेको आरोप लागेको छ । त्यही आरोपको छानबिनका क्रममा उनलाई विहीबार न्युज २४ को पानीपोखरीस्थित कार्यालयबाट पक्राउ गरिएको हो ।
यही प्रकरणमा पक्राउ परेका रविका सहकर्मी युवराज कँडेल र ओखलढुंगाकी अस्मिता कार्कीलाई पनि चितवन नै ल्याइएको छ । विहिबार राती १२ बजे भरतपुर अस्पतालमा ल्याई उनीहरूको स्वास्थ्य परीक्षण गरिएको थियो । साढे १ बजे जिल्ला प्रहरी कार्यालयको हिरासतमा पुर्याइएका उनीहरू तिनैजना अहिले त्यहीको प्रहरी हिरासतमा छन् ।
गत साउन २० गते भरतपुर महानगरपालिका–१ नारायणगढस्थित पोखरा बसपार्कस्थित कंगारु होटलको कोठाभित्र झुण्डिएको अवस्थामा पत्रकार पुडासैनीको शव फेला परेको थियो । उनले आत्महत्या गर्नुपूर्व आफ्नै मोवाईलमा रेकर्ड गराएको भिडियोका आधारमा रविसहित तीनजना पक्राउ परेका हुन् ।