आइतबार, ०२ नोभेम्बर २०२५

'यसपालि राेल्पाली जनताले माओवादीलाई भाेट हाल्दैनन्'

ईश्वरी राई (इशु)

ईश्वरी राई (इशु)

काठमाडाैँ
BreaknLinks
• • •

आउँदो मसिंर ४ गते हुने आम निर्वाचन नजिकिँदै गर्दा चुनावी प्रचारप्रसार व्यापक रूपमा बढिरहेको छ। यतिबेला गाउँ–शहरमा उम्मेदवारबीच चुनावी प्रचारप्रसारको होडबाजी नै चलिरहेको छ।

मतदातासम्म पुग्नका लागि तछाड्मछाड् गर्दै घरदैलो गरिरहेका छन्, उम्मेदवार। त्यसाे त उम्मेदवारहरूलाई जिताउन उत्साहित बनेका छन्, मतदाता। प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारबीच जताततै प्रतिस्पर्धा छ। त्यहीँ दौडमा छन्, रोल्पा प्रदेशसभा (क) मा एमालेबाट उम्मेदवार बनेका कमल बुढाथोकी। उनै बुढाथोकीसँग बिएल नेपाली सेवाका लागि ईश्वरी राईले गरेको कुराकानी– 


तपाईले रोल्पा प्रदेशसभा (क) मा उम्मेदवारी दिनुभएको छ, तपाईका चुनावी एजेण्डा के–के छन्? 

मेरो पहिलाे चुनावी एजेण्डा भनेकै कृषि हो। म आफैँ कृषि क्षेत्रबाट राजनीतिमा आएको हुनाले कृषि क्षेत्र मेरो पहिलो प्राथमिकता हो। कृषिमा मैले एउटा योजना बनाएको छु। निर्यात गर्न सक्ने व्यवसायीकरण गर्ने कृषि, उत्पादन र उत्पादनपछि बेचबिखनमा सहज हुने साथै कृषकको जीवनस्तर माथि उठाउनका लागि मैले एउटा याेजना बनाइरहेकाे छु।

त्योसँगै शिक्षा पनि मेरो अर्काे एजेण्डा हो। अब सरकारी स्कुलमा पनि ‘बोर्डिङ’ स्कुल जसरी नै पढाई हुनेछ। आर्थिक अवस्था कमजाेर भएकाहरूले पनि आफ्नो छाेराछाेरीहरूलाई राम्राे शिक्षा दिनुहुनेछ। 

कृषि, शिक्षासँगै मेरो अर्को एजेण्डा हो, स्वास्थ्य। हाम्रा दुरदराजका जनताहरूले बिरामी भएका समयमा उपचार पाउनुभएको छैन। त्यसैले उहाँहरूको स्वास्थ्यककाे बारेमा साेच्नुपर्ने मेराे कर्तव्य हाे। त्योसँगै म समाजमा जनचेतना फैलाउने कार्यक्रमलाई पनि सञ्चालन गर्ने तयारीमा छु। 

रोल्पा त माओवादीको प्रभाव परेको क्षेत्र हो। त्यसैमाथि गठबन्धन पनि छ। तपाईको चुनाव जित्ने आधार के–के हुन् त? 

मेरो जित्ने आधार नै रोल्पाली जनताको विश्वास हो। जनताले नयाँ टेष्ट, नयाँ सोचको कारण एमालेभित्रका युवा व्यक्ति कमल बुढाथोकीलाई विश्वास गरेर आफ्नो बहुमूल्य मतदान सुर्य चिन्हमा गर्नुहुन्छ र मलाई जिताउनुहुन्छ भन्ने आशा गरेको छु।

यसपालि राेल्पाली जनताले माओवादीलाई भाेट हाल्दैनन्। दुई दशक लामो माओवादी दबदबालाई चिर्दै अब एमाले उदाउनुपर्छ भन्ने कुरामा यहाँका युवालगायत प्रौढहरूले सोच्नुभयो भने म हार हैन जितको नजिक छु।

तपाई उठ्नुभएको क्षेत्र एमालेको लागि कमजोर देखिन्छ, यो क्षेत्रमा राप्रपाभन्दा एमाले कमजोर कि बलियो?

प्रदेशसभा (ख) भन्दा म उठेकाे क्षेत्र (क) सांगठनिक रूपमा अलिकति केही कमजोर नै छ। तर कमजोर छ, भन्दैमा हामी हार खाने पक्षमा छैनौँ। किनकी यो क्षेत्रमा हाम्रो पक्कड कम छ भन्दैमा जनताहरूले हामीलाई मत नै दिनु हुन्न भन्ने त छैन नी। त्यसैले उहाँहरूले आफ्नो महत्वपूर्ण मत दिएर मलाई जिताउनु हुन्छ भन्ने कुरामा विश्वस्त छु। 

प्रचण्डका स्वकीय सचिव जोकबहादुर महरा हजुरको प्रतिस्पर्धी हुनुहुन्छ, उहाँसँग प्रतिस्पर्धा गर्न कत्तिको सजिलो छ?

मेरो प्रतिस्पर्धी रोल्पाको 'हेभिवेट' नेता हुनुहुन्छ। उहाँ मेरो आदरणीय पनि हुनुहुन्छ। विगत लामो समयदेखि प्रचण्डको वरिपरि बसेर काम गरेको व्यक्ति भएकाले उहाँसँग प्रतिस्पर्धा गर्न पाउनु मेराे लागि गौरवकाे कुरा हाे। जित र हार त आफ्नो ठाउँमा छ। तर उहाँहरू एउटा शक्तिको रूपमा मिलेर गइरहनुभएको छ, उहाँहरूसँग एमालको एकल उम्मेदवारी रोल्पाको लागि गौरवपूर्ण इतिहास हो। यो क्षेत्रमा लड्न पाउँदा मैले एकदमै खुसीको अनुभव गरिरहेको छु। 

रोल्पाली जनताले किन एमालेलाई भोट दिने त?

विगतका दिनहरूमा रोल्पामा हाम्रो पार्टी एमालेको स्थिति सशक्त थियो। कतिपय गाविसहरूमा हामीले जितेका थियौँ। जिल्लामा भएका समस्याहरूलाई चिरेर समस्याहरूलाई सम्बोधन गर्न सक्ने शक्ति एमालेमा छ।

एमालेले राेल्पाकाे मात्र  होइन देशभरीकाे समस्यालाई समाधान गरेकाे छ। राष्ट्रको विकास र देशभरी विकासका काम गर्ने पार्टी भनेकै एमाले हो। त्यसैले रोल्पााली जनताहरूले एमालेलाई मत दिएर जिताउनुहुन्छ भन्ने कुरामा हाम्रो विश्वास छ।

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!