वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन

तस्बिरः एजेन्सी

वरिष्ठ साहित्यकार तथा पत्रकार मदनमणि दीक्षितको निधन भएको छ।

ललितपुरको समेरु अस्पतालमा भर्ना भएका दीक्षितलाई डिस्चार्ज गरी निवास कालिकास्थान ल्याइएको थियो।

निवासमै बेहोस भएका दीक्षितलाई पुतलीसडकस्थित हिमाल अस्पतालमा लगेपछि चिकित्सकले मृत घोषणा गरेका परिवारजनले जनाएका छन्।

दीक्षित मुटु, मिर्गौला र श्वासप्रश्वास सम्बन्धी समस्याबाट पीडित थिए।

विसं १९७९ फागुन ६ गते जन्मिएका मनदमणि दीक्षितको ९७ वर्षको उमेरमा बिहिबार बिहान निधन भएको हो।

दीक्षितका ‘माधवी’, ‘ऋग्वेद स केही प्रमुख सूक्त’, ‘ग्यास च्याम्बरको मृत्यु’लगायत ४६ कृति छन् । दीक्षितले मदन पुरस्कार, साझा पुरस्कार, पद्यमश्री पुरस्कारलगायत विभिन्न पुरस्कार सम्मान प्राप्त गरेका थिए ।

उनले माधवी कृतिका लागि विसं २०३९ मा मदनपुरस्कार प्राप्त गरेका थिए । सोही वर्ष माधवीले साझा पुरस्कार पनि पाएको थियो ।

वरिष्ठ आख्यानकार दीक्षितले २०६८ मा पद्यश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए।

पत्रकारितामा लामो समय बिताएका उनले २०१९ सालमा रुपरेखामा कथा प्रकाशित गरेर साहित्य यात्राको थालनी गरेका थिए । उनका माधवी उपन्याससँगै चरैवेति, त्यो युग, हाम्रा ती दिनसहितका निबन्ध संग्रह प्रकाशित छन् ।

उनको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् । नेपाली वाङ्गमय क्षेत्रमा उनको योगदानको स्मरण सदा भइरहने प्रधानमन्त्री ओलीले उल्लेख गरेका छन्।

दीक्षितका श्रीमती, तीन छोरा र एक छोरी छन् । परिवारका अनुसार मदनमणि दीक्षितको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।

 

प्रकाशित मिति: : 2019-08-15 08:44:22

प्रतिकृया दिनुहोस्