पोखराका ११ वटा वडा कार्यालयमा चोरी गर्ने सार्वजनिक

वडा कार्यालयबाट चोरी गरेका सामानसहित किशोर थापा।

पोखराका वडा कार्यालयमा शृंखलाबद्ध चोरी गर्दै हिड्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं ११ घर भई हाल पोखरा १० मा बस्दै आएका किशोर थापालाई चोरीको प्रहरीले ९ थान कम्प्युटर, ४ थान ल्यापटप  र अन्य चोरीका सामानसहित पक्राउ गरि बुधबार सार्वजनिक गरेको हो।

गत वर्षको जेठ २ गते पोखरा १२ को वडा कार्यलय चोरी भयो। त्यसको २ महिनापछि साउनमा पोखरा १५ , मंसीर २९ गते पोखरा १४, पुस १५ गते पोखरा २९, माघ ९ गते पोखरा ५, फागुन २३ गते पोखरा १३ र चैत ९ गते पोखरा १६ को वडा कार्यालयमा चोरी भएका थिए ।

२०७५ जेठदेखि सुरूभएको वडा कार्यालयमा चोरी हुने क्रम २०७६मा पनि जारी थियो।

यसै वर्ष वैशाख १८ गते पोखरा १९, जेठ २२ गते पोखरा ३१, असार १३ गते पोखरा २५ र साउन २१ गते पोखरा ६का वडा कार्यालय पनि चोरी भएका थिए।

यी वडा कार्यालयबाट एकै प्रकृतिका सामाग्रीहरु चोरी भएका थिए। मनिटर, सिपियू, ल्यापटपलगायतका समाग्री।

यसरी सिरियल रूपमा वडा कार्यालय चोरी हुन थालेपछि कास्की प्रहरीले विशेष अनुसन्धान सुरू गरेको थियो।

अनुसन्धानकै क्रममा प्रहरीले थापालाई पक्राउ गरेको हो।

थापाले सामान चोरेर काठमाडौँ लगेर विक्री गर्ने सुनाएपछि, प्रहरीले सामान किन्नेलाई समेत पक्राउ गर्न सफल भएको छ ।

पोखरामा चोरी गरेर थापाले काठमाडौं कलंकीमा कम्प्युटर सोलुसन सञ्चालन गर्दै आएका मकवानपुर थाहा नगरपालिकाका रूपचन्द्र गोपालीलाई ती सामानहरू बिक्रि गर्दै आएका थिए।

कास्कीका प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीका अनुसार चोरीका सामग्री किन्ने गोपाली र कम्प्युटरसहित थापालाई पक्राउ गरेर बुधबार नै सार्वजनिक गरेको हो।

पछिल्लो समय वडा कार्यालयलाई तार्गेटमा राखेर चोरी गरेका थापाले २०४६ देखि २०५१ सालसम्म डाका चोरी मुद्दामा काठमाडौं केन्द्रीय कारागारमा जेल सजाय भोगेका थिए। पुनः २०७१ देखि २०७४सम्म केन्द्रीय कारागारमै सजाय भुक्तान गरेका थापा फेरि पक्राउ परेका हुन्।

सजाय भोगे पनि उनले चोरी गर्न छाडेका थिएनन्। सजिलोसँग चोरी गर्न सकिने भएकाले उनले वडा कार्यालय रोजेका रहेछन्। वडा कार्यालयमा सुरक्षा गार्ड नहुने भएकाले चोरीका लागि सहज भएको उनको भनाई छ।

चोरी गरेर नजिकैको बन्दै गरेको घरमा लुकिछिपि बस्ने र बिहानै काठमाडौंको बस चढी जेब्रा झोलामा सामान राखी लैजाने गरेको जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख तथा एसपी दानबहादुर कार्कीले बताए ।

थापासहित पक्राउ परेका गोपालीलाई चोरी तथा डाँका सम्बन्धी कसुर मुद्दामा कास्की जिल्ला अदालतबाट मुद्दा दर्ता गरी थप अनुसन्धन गरिरहेको एसपी कार्कीले बताए। पोखरा महानगरपालिकाका ३३ वटा वडा कार्यालय मध्ये ११ वटा वडामा चोरी भएको थियो । पोखरा ५, १२, १३ १४, १५, १६, १९, २५, २९ र ३१ कार्यलयको ताला फोडेर चोरी भएको थियो।

प्रकाशित मिति: : 2019-08-14 18:06:22

प्रतिकृया दिनुहोस्