विराटनगरमा एक व्यापारीको हत्या गर्ने योजना बनाएका भारतीय सार्पसुटर कुनाल कुमार सिंहसहित पाँचविरूद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता गरिएको छ। मोरङ प्रहरीले सरकारी वकिल कार्यालयमार्फत शुक्रबार मुद्दा दर्ता गरेको हो।
प्रहरीको नियन्त्रणमा रहेका सापसुटर भारत सितामढी थान बैरगानिया ग्राम पञ्चायतका १९ वर्षीय सिंह, विराटनगर महानगरपालिका– ८ का ३१ वर्षीय मन्नुकुमार गुप्ता, सर्लाही गोडैता नगरपालिकाका ५० वर्षीय हरिनारायाण झालाई ‘संगठीत रूपमा हातहतियार खरखजनासहित आपराधिक षडयन्त्र उद्योग’ मा मुद्दा दर्ता गरिएको छ।
उनीहरु यस अघि नै पक्राउ परिसकेका छन्। फरार मोरङ कटहरी गाउँपालिका– ५ का ४३ वर्षीय मन्नुकुमार साह रौनियार र महोत्तरी जलेश्वर नगरपालिका–४ का २५ वर्षीय टिंकुकुमार झालाई फरार प्रतिवादी बनाएर मुद्दा दर्ता गरिएको छ।
याे पनि पढ्नुहाेस।
मुद्दा दर्ता भएपछि शुक्रबारनै प्रतिवादीहरू मध्ये सिंहको बयान सुरु भएको छ। पहिलो दिन सार्पसुटर सिंहको मात्र बयान भएको छ। अन्यको बयान आइतबार हुने अदालतले जनाएको छ। आइतबार प्रतिवादीको बयान सकिए सोही दिन थुनछेक बहस हुने अदालतका श्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए। थुनछेक बहसपछि न्यायाधीश कृष्णमुरारी शिवकोटीको इजलासले आदेश दिने छ।
पक्राउ परेका मुख्य अभियुक्त गुप्ताले पाँच लाखको सुपाडी दिएर विराटनगरमा खाद्यान्नको कारोवार गर्ने व्यापारी जितु भनिने जितेन्द्र रायलाई हत्या गर्न सार्पसुटर ल्याएको अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए।
प्रहरीले सिंहलाई गत जेठ २७ गते २ थान पेस्तोल र त्यसमा लाग्ने ७ राउण्ड गोलीसहित विराटनगरस्थित एक होटलबाट पक्राउ गरेको थियो। पुरानो लेनदेन र रिसईबीका कारण गुप्ताले व्यापारी रायको हत्या गर्न सार्पसुटर भारतबाट झिकाएको खुलेको एसपी अधिकारीको भनाइ छ।
पक्राउ परेका गुप्ता केही सयम अगाडि जवरजस्ती करणी मुद्दामा कैद भुक्तान गरेर छुटेका व्यक्ति हुन्। झा कर्तब्य ज्यान मुद्दामा कैद भुक्तान गरेका व्यक्ति हुन्।
पुरानो रिसाईबीलाई लिएर गुप्ताले व्यापारी रायको हत्या गर्ने योजना झालाई सुनाएपछि झाले भारतबाट सार्पसुटर झिकाएको अदालतमा दर्ता गरिएको अभियोगपत्रमा उल्लेख छ। तीनै जनालाई प्रहरीले यस अघि नै सार्वजनिक गरिसकेको छ।
याे पनि पढ्नुहाेस।