दुर्घटनामा परी आन्द्राभुँडी निस्केर गम्भीर घाइते एक बालकको सफल शल्यक्रिया भएको छ। बाँसको ठुटो रोपिएर आन्द्राभुँडी बाहिर निस्किएको अवस्थामा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–४ का आठ वर्षीय तफरेज आलमको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालका चिकित्सकले सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।
घरको छतबाट चिप्लिएर आलम बाँसघारीमा खसेका थिए। डा राजीव मिश्रा, डा पारसमणि साह, डा शशाङ्क यादव, डा गोपाल यादवलगायतको टोलीले उनको शल्यक्रिया गरेका हुन्।
शल्यक्रिया गर्न चार घण्टा लागेको डा मिश्राले बताए।
आन्द्रा भुँडी बाहिर निस्किएको गम्भिर अवस्थाका बालकको क्षतविक्षत बनेको २० सेन्टिमिटर आन्द्रा भुँडी काटेर सफल शल्यक्रिया गरी बचाउन सकेकोमा निकै आत्मसन्तुष्टि मिलेको उनको भनाई छ । उनले बालकको उपचारमा संलग्न पुरै टिम धन्यवादको पात्र रहेको बताए ।
शल्यक्रिया सफल भई शुक्रबार बालक होसमा आएपछि आफन्तहरु पनि निर्कै खुशी भएका छन् । शल्यक्रिया सफल भएपछि घाइते बालकका आफन्तले खुशी व्यक्त गरेका छन् । ‘अप्रेशन सफल हुने हो की होइन्, भन्ने निकै डर थियो’ घाइते बालककी आमा सबनम खातुनले भनिन्, ‘डाक्टरहरुको प्रयास सफल भयो, ज्यान बच्यो, धेरै खुशी भएका छौं ।’