पिँठ्यू ढुवानी सेवा

तस्बिरः बिएल

डोल्पा जिल्लास्थित काइके गाउँपालिका–३ का सक्कु सन्दुक लामा त्यहाँ निर्माण हुन लागेको सिँचाइ आयोजनाका लागि प्लाष्टिक पाइप पिठ्यूँमा बोकेर हिँडेको दुई हप्ता भयो। असारमै सक्नुपर्ने सो आयोजनाको निर्माण सामग्री ढुवानीको समस्याले गर्दा अहिलेसम्म कार्यान्वयनमै समस्या भएको उनको भनाइ थियो।

दुनैबाट काइके गाउँपालिकासम्म सामग्री बोकेर पुर्‍याउन मात्र चार दिन लाग्छ। रोटी, पीठोका लागि पाइपको भारी बोकेर उपल्लो डोल्पाका बासिन्दाले  दैनिक पिठ्ँयू, घोडा र खच्चडको भरमा सामग्री ढुवानी गर्दै आएका छन्।

यसरी दैनिक भारी नबोके दैनिक गर्जो टार्न र विकास निर्माणका कामसमेत प्रभावित हुन पुग्छ। भारी बोक्दा बोक्दा त्यहाँका बासिन्दाको टाउकामा नाम्लोको खत नै परेको छार्का गाउँपालिका–५ का सितार लामाले बताए। उनले भने, ‘भारी बोकेर नल्याए के खाने, के लगाउने? घोडा र खच्चड अनि मानिसले बोकेर नलगे दैनिक गुजारा चलाउन कठिन हुन्छ।’

दुनैबाट पनि उपल्लो डोल्पा जान पाँच दिनभन्दा बढी लाग्छ। अक्सिजनको अभाव र पर्याप्त खानेकुरा नपाइने उपल्लो डोल्पामा काम गर्न पनि मुस्किल हुने त्यहाँका बासिन्दा बताउँछन्।

६ महीना मात्र बसोबास गर्न सकिने सो स्थानमा विकास निर्माणका काम गर्नसमेत मुस्किल र  चिसो याममा त्यहाँका अधिकांश बासिन्दा घर छोडेर तल्लो क्षेत्रमा भर्ने गर्दछन्।

चैत महीना मात्र उपल्लो डोल्पामा जाने यहाँका बासिन्दा जडीबुटीको मौसम छोपेर पुनः फर्कने गरेको सहरताराका मञ्जु दावा लामाले बताइन्। सरकारी निकायको उपस्थितिसमेत सो क्षेत्रमा कम हुने गरेको छ। फोन सेवासमेत उपलब्ध नभएको सो ठाउँका बासिन्दा बिरामी भए उपचारको अभावमा कतिपयको ज्यानसमेत जाने गरेको छ।

खाद्यान्न उत्पादन अत्यन्तै न्यून हुने त्यहाँ आयातीत खाद्यान्नले मात्र दैनिक परिवार पाल्नु परेको रून्जे गुरूङले बताए। चिनो र तीतो फापर मात्र उत्पादन हुने उपल्लो डोल्पामा त्यो पनि लगानी अनुसारको उत्पादन नहुँदा स्थानीयवासी हैरान भएका छन्।

जाजरकोट–डोल्पा सडकखण्डको ट्याक खुल्ला भएपछि केही सहज महसुस गरेका त्यहाँका बासिन्दा अहिले दुनैबाट ओसार्ने गर्छन्। 

सामग्रीको मूल्यभन्दा ढुवानी भाडा बढी पर्ने भएपछि त्यहाँ  दैनिक उपभोग्य सामग्री पाउन चर्को मूल्य तिर्नुपर्छ। उच्च मानव बस्ती भएको धो र  विश्वकै लोपोन्मुख रहेको काइके भाषा यही उपल्लो डोल्पाको हो।

केही हुनेखानेले हेलिकोप्टरमा सामग्री ढुवानी गरे पनि   निम्न वर्गका बासिन्दा भने घोडा, खच्चड र पिठ्यूँकै भरमा जीवन गुजारा गर्दै आएका छन्।

सबै स्थानीय सरकारका कार्यालय सदरमुकाम दुनैमा छन्। उपल्लो डोल्पामा विकास निर्माणका काम गर्दा महँगो शुल्क खर्चिनु परेकाले लगानी बढ्ने, गुणस्तर नहुने र अनुगमनसमेत हुन सकेको छैन।

वर्षौंपछि उपल्लो डोल्पामा विकास निर्माणको अनुगमन गर्न प्रदेशसभा सदस्य वीरबहादुर शाही एकमहिने समय लिएर गएको धोदेखि टेलिफोनबाट जानकारी दिए। उनले भने, ‘पैसा छरेर मात्र विकास नहुने भएकाले खास के रहेछ भनी म उपल्लो डोल्पामा अनुगमनका लागि आएको र त्यहाँको वास्तविकताबारे पछि जानकारी गराउनेछु।’

प्रकाशित मिति: : 2019-08-09 15:45:25

प्रतिकृया दिनुहोस्