फोइमा बीएल -२
फोइमहादेव गाउँपालिका कालिकोट जिल्लाकै एक फरक विशेषता बोकेको गाउँपालिका मानिन्छ । यो जिल्लाका अन्य गाउँपालिकाभन्दा फरक छ । यहाँको मुख्य पहिचान भनेको जिल्लाकै नमुना विद्यालय सञ्चालन गर्नु हो । कालिकोटको भिरपाखामा तिला नदीलाई सदाको साक्षी राखेर जिन्दगीको उतारचढाव पार गरिरहने फोइबासीहको अदम्य साहसले महादेव माविको जन्म गरायो । यसको न्वारानमा आशिर्वाद दिन जुटेका यहाँका बासिन्दाको एकता आजको दिनसम्म आइपुग्दा पनि टुटेको छैन । त्यही एकताको फलस्वरुप आज सबैको बीचमा यस माविले नमुना माविको उपमा पाएको छ ।
यसको अवलोकन गर्न आउने जोकोहीको ध्यान तान्न योसँग धेरै कुरा छन् । टाकुराको टुप्पोमा तकिया हालेर सुतेको भूगोल । त्यसमा फुलेर चाँदीजस्ता देखिने स्याउ, आरु र नास्पतीका फर्म । विद्यार्थीको लागि आवश्यक पर्ने विद्यालयको भौतिक संरचना । विद्यालयबाट हेर्दा देखिने वारिपारिका डाँडापाखाले खेल्ने लुकामारीको मनोरम दृश्य । त्यहाँका मानिसको विद्यालयलप्रतिको उतरदायित्व । यी सबैे यसका विरासत हुन् ।
भौगोलिक विकटताका बीचमा पनि एक आशाको केन्द्र बनेको विद्यालयको अवलोकनपश्चात म घर फर्किने तरखरमा थिए । सबै विद्यार्थी कक्षा कोठाबाट निस्किएर तितरवितर भए । घडीमा दिउँसोको चार बज्दै थियो, एकजना विद्यार्थी चामलको खालि बोरा र हँसिया लिएर घाँस काट्न निस्किए । यो नै मेरा लागि दिनभर अवलोकन गरेको दृश्यभन्दा रोचक बन्यो ।
उनी थिए- कालिकाेट छाप्रेका कमल भण्डारा । स्कुलको होस्टेलमा बस्न लागेको धेरै भएको छैन । नयाँ शैक्षिक सत्रदेखि भर्ना भएका उनी कक्षामा ६ मा पढ्छन् ।
यसअघि उनका दाइ धर्मेन्द्र भण्डारा पनि यही स्कुलको होस्टेलमा बस्थे । मिजासिला र मिलनसार उनी सबैले मन पराइएका मध्ये एक हुन् । जसको कारण थियो- होस्टेलका सबैसँग घुलमिल हुन सक्ने विशेषता । यो उनको बारेमा जान्ने, बुझ्नेको भनाइ हो । पारिवारिक अवस्था कमजोर भएका धर्मेन्द्रलाई तीन वर्षअघि स्कुलका हेडसर नरदीप शाहीले होस्टेलमा बसेर पढ्ने व्यवस्था मिलाएका हुन् । पछि हेडसरले उनको अवस्थाको विषयमा सबैलाई बताउँदा उनीमाथि सबैको सहानुभूति बढ्यो ।
नरदीप सरका अनुसार – ‘धर्मेन्द्रका बा आमाको आम्दानीले साँझ बिहानको गाँसबाहेक अरु सामर्थ्य राख्दैन । जीवन धान्न बाआमा भारततिर झर्नुपर्ने भएकाले उनीहरुको पढाइ बाधा नहोस् भनेर होस्टेलमा बस्ने व्यवस्था मिलाएका हौ । उसको लागि खाना र बसोबासको व्यवस्था स्कुलले मिलाएको छ ।’ धर्मेन्द्रको पढाइमा सहज होस् भनेर हेडसर, अरु सर र माथिल्लो तहमा अध्ययरत् विद्यार्थीले उनको कापी-कलमको व्यवस्था उनी आफै गर्न सक्ने गरी खरायोपालनको योजना बनाए ।
खरायोपालनका लागि हेडसरले एकहजार सहयोग गर्ने । त्यसबाट एकजोर खरायो किन्ने । धर्मेन्द्रले खरायो पालन गर्ने ।
कक्षा १२ मा विज्ञान पढ्दै गरेका जुविथाका कसमबहादुर शाहीले आफ्नो घरमा भएका दुईवटा खरायो ल्याइदिए । खरायोपालनको योजनामा हेडसरले सहयोग गर्ने भनेको हजार रुपियाँ बच्यो ।
खरायोको बासस्थानको लागि होस्टेलमा बसेका एकजना शिक्षकले खोर बनाइदिए । जो विद्यालयको खालि कोठामा छ । त्यसपछि धर्मेन्द्रको दैनिकी फेरियो । स्कुलको फराकिलो फाँटमा घाँसपात मनग्य छ । त्यही घाँसपात संकलन गरेपछि खरायोको खाना हुने । कहिलेकाहीँ होस्टेलमा बचेको खानेकुरा पनि खेर नजाने । धर्मेन्द्रले पढाइको साथै नयाँ काम थाले, खरायोपालन ।
गएको दशैपछि धर्मेन्द्रले आफ्ना भाइ कमललाई पनि होस्टेलमा ल्याए । उनी नयाँ शैक्षिक शत्रबाट यतै भर्ना भए । अहिले दुई भाइ मिलेर खरायो पालन गरेका छन् । तर, सुरुमा खरायो ब्याउने बेला भाले र पोथी अलग गर्नुपर्छ भन्ने कुरा थाहाँ नहुदा भाले खरायोले बच्चा काटेर केही बच्चा मारिदियो । पछिल्लो पटकबाट खरायो ब्याउदा उनीहरुले यो कुरामा सावधानी अपनाएकाले खरायोको संख्या केही समयमै बढ्न थाल्यो । यस काममा अरुले पनि सघाए ।
जाडो महिनामा दुईवटा खरायोबाट सुरु गरेको खरायोपालन चाँडै नै फस्टायो । अहिले उनीहरुको खोरमा २१ वटा खरायो छन् । हेडसर र शिक्षकहरु मिलेर अब एउटा व्यवस्थित खोरका लागि सहयोग गर्ने बताएका छन् । जसले गर्दा खोर झन् व्यवस्थित हुने कुरामा उनीहरु विश्वस्त छन् ।
‘केही दिनअघि उनीहरुले एउटा भाले खरायो पाँचसयमा बेचे । अब बिस्तारै सबै खरायो बिक्री गर्ने भएका छन् । उनीहरुको थोरै भएपनि आम्दानी हुनेछ जसबाट उनीहरू आफ्नो लागि आफैले कापी-कलमको व्यवस्था गर्न सक्नेछन् । जसले उनीहरुलाई झन् मेहेनती बनाउने छ ।’ हेडसरले भने ।
हेडसरले यो पनि नमुना नै काम गरेका रहेछन् । नमुना विद्यालयको हेडसरको नेतृत्वमा नमुना काम । पछि बुझेको उनले यस्ता अरु विद्यार्थीलाई पनि होस्टेलमा बसालेर पढ्ने व्यवस्था मिलाएका रहेछन् ।
तिलागुफा नगरपालिकाकी उपमेयर दर्शना नेपालीले हेडसरले गर्दै आएका यस्ता कामको प्रशंसा गर्दै भनिन् ‘हेडसरले थुप्रैको भविष्य बनाइदिनु भएको छ । वास्तवमा उहाँ मनको साह्रै राम्रो हुनुहुन्छ ।’
खरायोपालन गर्दै पढिरहेका कमलले मसिनो र मिठो बोलीमा भने ‘पढाइ राम्रै छ । दिनभरि स्कुलमा पढ्छौं । साँझ-बिहान घाँसपात जम्मा गरेर खरायोलाई दिन्छौं । राति अबेरसम्म पढेपछि सुत्छौं ।’
यस्ता नमुना काम राज्यले गरिदिएको भए भण्डारा दाजुभाइले मात्र होइन, बहुसंख्यक गरिबका छोरोछोरीको शिक्षामा पहुँच पुग्ने थियो । नागरिकले राज्य नामको अभिभावक छ भन्ने अनुभूति गर्ने थिए । तर, विडम्बना त्यस्तो हुन सकेको छैन । बरू भण्डारा दाजुभाइका उमेरका धेरै विद्यार्थी पढाइ खर्च जुटाउनकै लागि यार्सा टिप्न पाटनतिर हिडेका छन् या त भारतका गल्ली चहारिरहेका छन् । राज्य, राज्य जस्तो छैन । राज्य त 'छैन प्रसाद' नामको पदार्थ जस्तो लाग्न थालिसक्यो ।
यो पनि हेर्नुहोस्
फोइमा बीएल -१ - कालिकोटमा साँच्चैको नमूना स्कुल (भिडियोसहित)