नेपालको पूर्वी जिल्लामा गत महिना आएको अविरल बर्षाका कारण नस्ट भएको बालीलाई पुर्नजीवन दिन किसानहरू फेरि खेतमा जुटेका छन्।
बाढीका कारण प्रदेश नम्बर–१ को राजधानी विराटनगर वरिपरि रोपिएको प्रायः सबै धान बिग्रिएको थियो। खेतमा जमेका पानीको मात्रा घटेपछि यतिबेला किसानहरू आफ्नो खेतमा बिग्रिएको धान रोपाइँ गर्न तम्सिएका छन्।
प्रदेश–१ कृषि विकास निर्देशनालय विराटनगरका बरिष्ठ कृषि प्रसार अधिकृत प्रकाश डाँगी बाढीले बगाए पनि बाँकी रहेको ठाउँमा रोपाइँ गर्ने सिलसिला सुरु भएको बताउँछन्। उनले रोपाइँका कारण खेतमा हरियाली फर्किएको दावी गरे।
बाढीले रोपेको धान बगाएर क्षति पुर्याएपछि धेरै किसानहरूले दोस्रो पटक रोपाइँ गरेका हुन्। ‘भदौ १५ सम्म गरिएको रोपाइँले उत्पादन राम्रै हुन्छ। त्यही भएर बाढीले रोपो बगाउन साथ किसानले खेतमा बीउ राखिहाले,’ डाँगीले भने, ‘अहिले त्यो बीउ धमाधम रोप्ने बेला भएको छ। तराई क्षेत्रमा बढीमा २० दिनसम्ममा धानको बीउ रोप्न तयार हुन्छ।’
याे पनि पढ्नुहाेस।
अब पनि बाढी वा खडेरी कुनै कुराले असर ग¥यो र मौसमले साथ दिएन भने उत्पादनमा असर गर्ने उनी बताउँछन्। भन्छन्, ‘अब पनि मौसमले साथ दिएन भने किसानको लगानी खेर जान सक्छ।’
मोरङमा हालसम्म ७६ प्रतिशत रोपाइँ भएको छ। ८३ हजार तीन सय हेक्टर क्षेत्रफलमा धान खेती हुने यस जिल्लामा ६३ हजार तीन सय आठ हेक्टरमा रोपाइँ सकिएको डाँगीले बताए।
उनको भनाईमा अहिले रोपाइँ भइरहेको बीउ एक सय दिन भित्रमा फल्ने खालको छ।
‘यस अघि किसानले ढिलो गरेर पाक्ने बीउ रोप्ने गर्थे,’ डाँगीले भने, ‘समय कम भएको कारण जति सक्दो चाँडो पाक्ने धानको बीउ रोप्नु पर्ने हुन्छ।’
उनी स्वर्णा सव १, साम्वा मन्सुली, सेहरान सव १ जस्ता जातका धान ढिलो पाक्ने बताउँछन्। यी धान पाक्न १ सय ५० दिनसम्म लाग्छ। हर्दिनाथ १, हर्दिनाथ ३, तरहरा १, लोकल बासमती, सुखा ३ जस्ता धान चाँडो पाक्ने जातका रहेको र हाल किसानले त्यही जातका धान रोपाइँ गरिरहेको जानकारी दिए।
याे पनि हेर्नुहाेस।