विराटनगर महानगरपालिका–४ स्थित नोबेल शिक्षण अस्पतालबाट शनिबार राती निस्किएको को २ च ३१२१ नम्बरको एम्बुलेन्स लापरवाही तरिकाले हकाएको देखेपछि शंका लागेर प्रहरीले कञ्चनबारीमा रोक्यो।
र, प्रहरीले मादक पदार्थ सेवन (मापसे) चेकजाँच गर्न थाल्यो। नभन्दै, मोरङको सुनवर्सी नगरपालिका–६ मा बसोबास गर्ने ३५ वर्षीय चालक पूर्ण तामाङले मापसे गरेर एम्बुलेन्स चलाएको पुष्टी भयो। प्रहरीले तत्कालै उनलाई नियन्त्रणमा लियो।
सोही दिन नोबेल अस्पतालबाटै को १ च ४०७१ नम्बरको अर्को एम्बुलेन्स पनि हुइँकिदै आयो। बिरामी नबोकेको तर चर्को स्वरमा हर्न बजाउँदै जथाभावी चलाइरहेको पाइएपछि प्रहरीले तत्कालै त्यो एम्बुलेन्सलाई पनि नियन्त्रणमा लियो। विराटनगर–५ मा बसोबास गर्ने २७ वर्षीय मुकेश चौहानले उक्त एम्बुलेन्स पनि मापसे गरेर चलाएको पुष्टि भयो।
प्रहरीले उनीसहित एम्बुलेन्स पनि नियन्त्रणमा राख्यो।
तामाङ र चौहानविरुद्ध यतिबेला प्रहरीले अभद्र व्यवहारको मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ। खाली रहेका दुवै एम्बुलेन्स अस्पतालमा बिरामी छाडेर बाहिरिएका थिए।
चालकहरु तामाङ र चौहान एकै पटक पक्राउ परेपछि मापसे गरेर एम्बुलेन्स कुदाउने प्रवृत्ति बढेको भन्दै सम्बन्धित निकायले गुनासो गरेका छन्। एम्बुलेन्स जस्तो संवेदनशील गाडी मापसे प्रयोग गरेर कुदाउने घटनाले सवैलाई आतंकित पारेको मोरङ प्रहरी प्रवक्ता डीएसपी राजकुमार खिउजु बताउँछन्।
‘बिरामीको ज्यान बचाउन प्रयोग हुने गाडी नै चालकले मापसे गरेर लापरबाही तरिकाले चलाउन थालेपछि के हुन्छ?’ खिउजुले प्रश्न गरे। उनले चालकले मापसे गर्दा बिरामीलाई उपचार पाउने अस्पतालसम्म पु¥याउन गाह्रो हुने गरेको बताए।
याे पनि पढ्नुहाेला।
उनले जनगुनासो बढेपछि आफूहरूले विशेष टोली परिचालन गरेको जानकारी बीएल नेपाली सेवालाई दिए।
खिउजुले मापसे गरेर चलाउने तथा अन्य खालका गलत गतिविधी गर्ने एम्बुलेन्स चालकलाई तत्काल नियन्त्रणमा लिएर कारबाही अघि बढाइने बताए।
मोरङमा एक सय ३८ एम्बुलेन्स सञ्चालनमा रहेको र एम्बुलेन्स चालकको लापरबाही बढेर गएको जनगुनासो कार्यालयमा धेरै आउन थालेको जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले बताए। उनले छानबिनका क्रममा गलत गरेको पुष्टि भए चालकलाई एम्बुलेन्स चलाउन रोक लगाइने बताए।
याे पनि हेर्नुहाेस।