गत साता विराटनगर महानगरपालिका–१५ रामजानकी चोकबाट ठूलो परिमाणमा लागुऔषधसहित ३२ वर्षीय अरजिना खातुन पक्राउ परिन्। उनलाई प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान थाल्यो।
प्रहरीको अनुसन्धानबाट सबैलाई सोच्न बाध्य बनाउने एउटा तथ्य बाहिर आएको छ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार लागुऔषध कारोवारीले सामान ओसारपोसारका लागि महिलाको प्रयोग गर्न थालेका छन्।
खातुनले गत साता जोगबनी नाकाबाट झोलामा लुकाएर ल्याएको लागुऔषधमा डाईजेल्याव, एभिल र लुपिजेसिक दुई–दुई सय एम्पुल गरेर कूल ६ सय एम्पुल तथा डाईलेक्सडिसी पाँच बोतल, नाईट्रोजेपाम ३० ट्याब्लेट र स्पास्मोप्रोक्सिभन एक सय ४४ क्याप्सुल बरामद भएको थियो।
ती महिलाविरुद्ध लागुऔषध ऐनअन्तर्गत मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ। उनी विगतदेखि नै भारतबाट नेपालतर्फ लागुऔषध ओसारपसारमा संलग्न रहेको प्रहरीले जानकारी दियो।
याे पनि पढ्नुहाेस।
उनी अवैध रुपमा नेपाल भित्राएर सुनसरीको धरानमा लागुऔषधको कारोवार गर्ने नेपाली व्यापारी र जोगवनीमा डिलर चलाएर बसेका व्यक्तिबीचको भरिया थिइन।
पक्राउ परेकी खातुनले भनिन्, ‘मलाई धरान पु¥याइदिनु १० हजार रुपैयाँ दिन्छौं भनेर जोगवनीबाट एउटा झोला दिएर पठाए। त्यही झोला बोकेर आउँदै गर्दा प्रहरीले बीचमै पक्राउ गरेपछि मात्रै लागुऔषध रहेछ थाहा भयो।’
महिलाले दिएको जानकारीका आधारमा लागुऔषध पुर्याउनु पर्ने व्यक्तिको पहिचान खुले पनि प्रहरीले गोप्य राखेको छ। धरानको विभिन्न ठाउँमा लागुऔषध ‘सप्लाई’ र अवैध कारोवार गर्ने ती व्यक्ति फरार भएका कारण खोजीका लागि विशेष टोली परिचालन गरिएको डीएसपी खिउजुले बताए।
केही समय अघि मात्रै प्रहरीले लागुऔषध ओसारपसारमा प्रयोग भएका दुई महिलालाई पनि नेपाल–भारत सीमा क्षेत्रबाट लागुऔषधसहित पक्राउ गरेको थियो। लागुऔषधसहित महिला पक्राउ पर्ने क्रम सुरु भएसँगै सीमावर्ती जोगवनी बजारमा खुलेआम किनबेच हुने यसको ओसारपसारमा महिलाको प्रयोग हुन थालेको खुलेको हो।
प्रहरीका अनुसार केही रकम लिएर यसरी प्रयोग भएका महिलाले डिलरबाट अवैध रुपमा नेपालमा व्यापार गर्नेसम्म लागुऔषध पुर्याउने जिम्मेवारी पाएका हुन्छन्।
याे हेर्नुहाेस।