पोर्चुगलमा निधन भएका एक नेपालीको शव घर पठाइएको छ । रौतहटको चन्द्रनिगाहपुरका ३५ वर्षीय रामबहादुर बस्नेतको शव आज नेपाल पठाइएको उनका काका गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका उपाध्यक्ष भुपेन्द्र बस्नेतले बताए।
रोजगारदाता कम्पनीको खर्च व्यवस्थापनमा शव नेपाल पठाइएको उनले बताए।
पेटमा सामान्य समस्या देखिएपछि बेजास्थित शान्तियागो अस्पताला भर्ना गरिएका बस्नेतलाई चिकित्सकले गम्भीर प्रकृतिको क्यान्सर भएको बताएका थिए।
तीन साताको उपचारपछि बस्नेतको बुधबार राति निधन भएको हो । बस्नेत वैदेशिक रोजगारीका सिलसिलामा चार महीना अगाडि पोर्चुगल आएका थिए।
उनी यहाँस्थित जम्बुजिरामा रहेको ‘पिसफुल प्लानेट’ कृषि कम्पनीमा कार्यरत थिए ।