मोरङमा एम्बुलेन्समाथि प्रहरीले विशेष निगरानी बढाएको छ। एम्बुलेन्सका चालकले मादक पदार्थ सेवन (मापसे) गर्ने गरेको गुनासो आएपछि प्रहरीले निगरानी बढाएको हो।
प्रहरीले शनिबार राति गरेको आकस्मिक चेकजाँचका क्रममा विराटनगरमा दुईवटा एम्बुलेन्सका चालकले मापसे गरेको पाइएको थियो ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी राजकुमार खिउजुका अनुसार नोबेल शिक्षण अस्पतालमा बिरामी पुर्याएर फर्किएका को २ च ३१२१ नम्बरको एम्बुलेन्स चालक मोरङ सुनवर्सी नगरपालिका–६ का ३५ वर्षीय पूर्ण तामाङ र को १ च ४०७१ नम्बरको एम्बुलेन्स चालक विराटनगर महानगरपालिका–५ का २७ वर्षीय मुकेश चौहानले मापसे गरेको भेटिएको हो।
प्रहरीले दुवै चालक र एम्बुलेन्सलाई नियन्त्रणमा लिएको छ । दुवैविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको डीएसपी खिउजुले बताए।
खिउजुले चालकले मापसे गर्दा बिरामीलाई उपचार पाउने अस्पतालसम्म पु¥याउन गाह्रो हुने बताए। उनले मापसे गरेर एम्बुलेन्स चलाउने घटना अवस्थालाई निरुत्साहित गर्न प्रहरीले एम्बुलेन्समाथि निगरानी बढाएको जानकारी दिए ।
उनले कुनै पनि चालकले मापसे गरेर एम्बुलेन्स चलाएको पाइएमा तत्काल नियन्त्रणमा लिएर मुद्दा चलाइने जानकारी दिए।
मोरङमा एक सय ३८ एम्बुलेन्स सञ्चालनमा रहेको रेकर्ड जिल्ला जनस्वास्थ्य कार्यालय मोरङसँग छ। जनस्वास्थ्य प्रमुख ज्ञानबहादुर बस्नेतले चालकले मापसे गरेर एम्बुलेन्स चलाउनु ठूलो गल्ती र लापरबाही भएको बताए।
याे पनि पढ्नुहाेस।